३१ भाद्र २०८२, मंगलवार

राप्ती नदीमा आपत्‌कालीन तटबन्ध निर्माण
  • न्युज मानसराेवर

बाँके\बाँकेको राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियास्थित राप्ती नदीमा आपत्‌कालीन तटबन्ध निर्माण गरिएको छ ।  जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन’ प्रविधिबाट आपत्‌कालीन तटबन्ध निर्माण गरिएको हो । तटबन्ध निर्माण भएपछि स्थानीयबासी खुशी देखिएका छन् ।

‘तटबन्ध निर्माण भएसँगै बाढीको जोखिम घटेको छ, अब ढुक्कसँग बस्न पाउनेमा विश्वास लागेको छ’, राप्तीसोनारी-७ का वडाध्यक्ष रामलखन थारूले भने । उनले जनताको तटबन्ध कार्यालयअन्तर्गत लिइएको पहल र तत्परताको प्रशंसा गर्दै यस वर्ष वर्षामा बस्ती जोगिने धारणा राखे ।

वर्षा सकिएपछि स्थायी तटबन्धको प्रावधान रहेको उल्लेख गर्दै वडाध्यक्ष थारूले तटबन्धपछि स्थानीय निकै खुशी भएका बताए । तीन वर्षअघि आधा भत्किएको तटबन्ध ठूलो बाढी आउनेबित्तिकै पूरै भत्केर आधा दर्जन गाउँ डुब्ने खतरा थियो । २०७१ को बाढीपछि राप्ती नदीले धार परिवर्तन गरेपछि खल्ला झगडियालगायत दर्जनौं गाउँ डुबानको जोखिममा पर्दै आएका थिए ।

यस वर्ष जनताको तटबन्ध कार्यालयले जेठ अन्तिमदेखि आपत्‌कालीन तटबन्ध निर्माण गरेपछि स्थानीयवासी बाढीको त्रासबाट मुक्त भएका
छन् । ६ करोड ५० लाख लागतमा पक्की तटबन्ध निर्माण गर्ने ठेक्का अनुसार बस्तीलाई डुबानबाट जोगाउन पहल थालिएको जनताको तटबन्ध कार्यालय लमही (दाङ)ले जनाएको छ ।

कार्यालय प्रमुख डा. नारायणप्रसाद सुवेदीले खल्ला झगडिया र जरैयामा आपत्‌कालीन तटबन्ध बनाएर यस वर्ष डुबानबाट हुनसक्ने जोखिम न्यूनीकरणको पहल थालिएको उल्लेख गर्दै वर्षापछि स्थायी तटबन्ध निर्माण प्रक्रिया शुरू हुने जानकारी दिए ।

उनले यस्तो प्रविधि पूर्वी नेपाल र पश्चिम राप्ती नदीमा पनि प्रयोग गरिएको भन्दै यो प्रविधिमा खर्च पनि कटौती हुने बताए । ‘हामीले बेम्बोपाइलिङ र कङ्क्रिट प्रकुपाइनलाई एकीकृत रूपमा प्रयोग गरेका छौ’, डा. सुवेदीले भने । अनुसन्धानका लागि पनि तटबन्ध निर्माणका क्रममा नयाँ अभ्यास भएको जानकारी दिँदै उनले आफूहरूसँग सिकेर भारतले समेत यस्तो प्रविधिबाट तटबन्ध बनाएको उल्लेख गरे ।
उनका अनुसार आपत्‌कालीन तटबन्धमा बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा, जाली र सिमेन्टको पोल प्रयोग गरिएको छ ।

स्थानीयवासी दुर्गा पाण्डेका अनुसार आपत्कालीन तटबन्ध बनेकाले वर्षामा गाउँ डुबानमा नपर्ने विश्वास बढेको छ । खल्ला झगडियामा निर्माण भएको तटबन्धका कारण देउपुरा, पिप्रहवा, नरैनापुर गाउँपालिका-६ को सोनवर्षा, कुदरवेटवा, गङ्गापुर, भगवानपुर र वडा नम्बर ५ को नवाजीगाउँ, भोजपुर तथा डुडुवा गाउँपालिका-१ को कुडवागाउँ लाभान्वित हुनेछन् ।

  • १५ श्रावण २०८२, बुधबार प्रकाशित

  • Nabintech