बाँके\बाँकेको राप्तीसोनारी गाउँपालिका खल्ला झगडियास्थित राप्ती नदीमा जनताको तटबन्ध कार्यक्रम लमहीले आपतकालीन तटबन्ध निर्माण सम्पन्न गरेपछि राप्ती नदीले धार परिवर्तन गरेको छ ।
आपतकालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकोले बाढीको उच्च जोखिममा परेका राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्तीहरु खतरामुक्त भएको जनताको तटबन्ध कार्यक्रम लमहीले जनाएको छ ।
दुई वर्षअघि राप्ती नदीमा आएको ठुलो बाढीले पक्की तटबन्ध बगाएपछि बजेटको अभाव जनाउँदै नयाँ तटबन्ध निर्माण हुन सकेको थिएन, जसले गर्दा सो वरिपरिका करिब एक दर्जन गाउँबस्ती डुबानको उच्च जोखिममा थिए ।
आपतकालीन तटबन्ध निर्माण गर्दा नदी बगिरहेको क्षेत्रमा तीन मिटर लामो १०/१० सेन्टिमिटर मोटाइ भएको छ वटा सिमेन्टको पोल जोडेर आरसीसी पर्कोपाइन तयार पारिएको छ । करिब पाँच क्वीन्टल तौल भएको आरसीसी पर्कोपाइन दुई वटा लहर बनाएर नदीमा राखिएको छ । आरसीसी पर्कोपाइन नदीमा राख्न यस क्षेत्रमा क्रेन नभेटिएपछि बुटबलबाट ४० मिटर लामो बुम भएको क्रेन ल्याइएको थियो ।
खल्लाझगडिया क्षेत्रमा चार सय मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्नेगरी साई माँ दुर्गा भिन्सी जेभीले छ करोड पाँच लाख रुपियाँको लागतमा ठेक्का लिएर काम सुरु गरेको छ । सोही ठेक्काअन्तर्गत आपातकालीन सो तटबन्ध निर्माण गरिएको र वर्षा सकिएलगत्तै पक्की तटबन्ध निर्माण शुरु गरिने जनताको तटबन्ध कार्यक्रम लमहीले जनाएकोे छ ।