१९ श्रावण २०८२, आईतवार

के गरिँदैछन् १५ वटा मुर्रा राँगा ? 
  • न्युज मानसराेवर

बाँके\२०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला भारतले नेपाललाई १५ वटा मुर्रा जातको राँगा दिने घोषणा भएको थियो ।  त्यतिबेला उक्त विषयले अत्यधिक चर्चा बटुलेको थियो । कतिपयले आलोचना समेत गरेका थिए । यहाँसम्म कि संघीय संसद्‌मा बोल्दै स्वयं प्रधानमन्त्री दाहालले मुर्रा जातको राँगा दिने विषय पहिलेदेखि नै प्रक्रियामा रहेको स्पष्टीकरण दिनुपरेको थियो ।

भारतले नेपालाई मुर्रा राँगा दिने भनेको दुई वर्षभन्दा बढी भइसकेको छ । भारतले नेपाललाई दिने भनिएका राँगाहरू कहाँ गए ? ल्याइयो कि ल्याइएन ? यस विषयमा लोकान्तरले सोधखोज गरेको छ । भारतले नेपाललाई मुर्रा राँगा दिने घोषणाको करिब ८ महिनापछि २०८० मंसिरमा १५ वटा मुर्रा जातका राँगा बाँकेको जमुनाहा नाका हुँदै नेपालगञ्जमा ल्याइएका थिए ।

कूल १५ वटा मुर्रा राँगामा ७ वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरा, ३ वटा लहान र ५ वटा नेपालगञ्जमै राखिएको पशु सेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले बताए । अहिले अधिकांश राँगाको विकास भइरहेको र केही राँगाबाट सिमेन (वीर्य) संकलन गर्न समेत शुरू गरिसकेको उनको भनाइ छ ।

‘शुरूमै १५ वटा मुर्रा राँगाहरूमध्ये ७ वटा पोखरामा पठाइयो । ३ वटा लहान र बाँकी नेपालगञ्जमै राखिएको थियो’, उनले भने, ‘अहिले झन्डै डेढ वर्ष हुँदा केही राँगाहरूको सिमेन संकलन शुरू गरिएको छ भने अन्यको विकास भइरहेको छ ।’भारतबाट मुर्रा क्रस व्रीड गरेर उन्नत जातको भैँसी बनाउनका लागि ल्याइएको हो । मुर्रा जातको राँगाबाट संकलन गरिने वीर्यलाई कृत्रिम गर्भाधान गर्नका लागि प्रयोग गरिनेछ ।

मुर्रा जातको वीर्यबाट गर्भाधान गराइने भैँसीको औसत उत्पादन र दूधको उत्पादनमा वृद्धि हुने जनाइएको छ । भारतले नेपालाई २०८० मा मुर्रा राँगा दिने घोषणा गरे पनि मुर्रा जातका राँगा ल्याउने प्रक्रिया २०७३ सालदेखि नै चलिरहेको थियो ।

के गरिँदैछन् मुर्रा राँगा ? 

पोखरामा राखिएका भारतबाट ल्याइएका ७ वटा मुर्रा राँगाहरूमध्ये केहीबाट सिमेन निकालेर वितरण समेत गरिएको राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख विश्वनाथ गौतमले लोकान्तरलाई जानकारी दिए । अन्य राँगाहरूको पनि विकास भइरहेको उनको भनाइ छ ।

पोखरामा पहिलेदेखि नै मुर्रा जातका राँगा थिए । अहिले भारतबाट ल्याइएका ७ वटा राँगासहित कूल १६ वटा राँगा पोखरामा छन् । ‘गत आर्थिक वर्षदेखि केही राँगाहरूबाट सिमेन कलेक्सन गर्न शुरू भइसकेको हो । हामीले सिमेन कलेक्सन गरेर वितरण समेत गरिसकेका छौं’, उनले भने, ‘पहिलेदेखि केही मुर्रा राँगाहरू थिए ।पुरानालाई नयाँले रिप्लेस गर्दै गइन्छ ।’

प्रजनन् कार्यालयमा संकलन गर्ने वीर्यलाई माइनस ९६ डिग्री सेल्सियस तापक्रममा राख्ने गरिन्छ । यस्तो चिसोमा राख्नका लागि लिक्विड नाइट्रोजनको आवश्यक हुन्छ । नाइट्रोजनको सहायताले राखिने सिमेनलाई वर्षौं वर्षसम्म पनि प्रयोग गर्न सकिन्छ । पछिल्ला केही वर्षदेखि स्थानीय पालिकाहरूले पनि पशुमा कृत्रिम गर्भाधान कार्यक्रम चलाउने गरेका छन् । पालिकाहरूले नै सञ्चालन गर्ने कृत्रिम गर्भाधानका लागि पशु प्रजनन् कार्यालयले वीर्य उपलब्ध गराउँदै आएको छ ।

नेपालमा रैथाने र आयातित उन्नत जातका दुई प्रकारका भैँसी पाइन्छ । नेपालमा लिमे, पारकोटे र गड्डी जातको स्थानीय भैँसी र मुर्रा शुद्ध नश्ल र मुर्रा क्रस व्रीड भैंसीका प्रजाति पाइन्छ । अहिले नेपालमा ल्याएको मुर्राको जातबाट औसत दूध उत्पादन ३ हजार लिटरभन्दा बढी छ । मुर्रा जातको राँगाबाट जन्मेका भैँसीको दूधमा ६ देखि ८ प्रतिशतसम्म चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशतभन्दा बढी चिल्लो पदार्थबाहेकको ठोस पदार्थ (एसएनएफ–सोलिड नट फ्याट) पाइन्छ ।

नेपालमा स्थानीय भैँसीको औसत उत्पादकत्व करिब ९ सय लिटर दूध प्रतिवेत छ । यस्तै, मुर्रा क्रस व्रीड भैँसीको औसत उत्पादकत्व करिब १ सय ५ सय लिटर दूध प्रतिवेत र शुद्ध नश्लका मुर्रा भैँसीको औसत उत्पादकत्व करिब २ हजार ३ सय लिटर दूध प्रतिवेत छ ।नेपालमा २९ लाख भैँसीको संख्या रहेको राष्ट्रिय कृषि गणनाले देखाउँछ । यसमध्ये २६ प्रतिशतको हाराहारीमा उन्नत तथा वर्णशंकर भैँसी छ ।

कृत्रिम गर्भाधान गर्नका लागि प्रत्येक डोज (एक पटक गर्भाधान गर्दा लग्ने मात्रा)को ५० रूपैयाँ राजस्व तीर्नुपर्छ । जोकसैले ५० रूपैयाँ राजस्व तिरेर यस्तो कृत्रिम गर्भाधान गर्न सक्ने विभागले जनाएको छ । पशु विज्ञहरूले कृत्रिम गर्भाधानका लागि २०० देखि ३०० रूपैयाँमा गाउँघरमा गर्ने गरेका छन् । यसका साथै निजी गर्भाधानकर्ताहरूले पनि गाउँघरमा कृत्रिम गर्भाधान गराउँदै आएका छन् ।

 

  • १९ श्रावण २०८२, आईतवार प्रकाशित

  • Nabintech