२३ श्रावण २०८२, बिहीबार

बाँकेमा एक हजार जग्गाधनी प्रमाणपुर्जा वितरण
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा भूमि समस्या समाधान आयोगले हालसम्म करिब एक हजार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर नगरपालिकाका विभिन्न वडामा चार चरणमा गरी जग्गा धनी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिएका हुन ।

अध्यक्ष खनालका अनुसार हाल कोहलपुर नगरपालिकाका सबै १५ वडामा नाप नक्साको काम सम्पन्न भएको छ । कोहलपुरकै भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । यसैगरी  राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४,  बैजनाथ गाउँपालिका ७, खजुरा ६ र जानकी ५ मा नाप नक्साको काम सम्पन्न भएको छ ।

यसैगरी राप्तीसोनारी ३,५ ,७ र ९, बैजनाथ ४ र ६, खजुरा ४ र ५  नेपालगञ्ज उपमहानगरपालिका २० मा नाप नक्सा जारी छ ।  राप्तीसोनारी १,  बैजनाथ १, जानकी ४, नेपालगञ्ज १८ र १९ मा नाप नक्साका लागि तयारी भइरहेको आयोगले जनाएको छ ।

नरैनापुर गाउँपालिकामा निवेदन दर्ता र निस्सा वितरण भइरहेको छ भने डुडुवा गाउँपालिका वडा नम्बर ६ को निवेदन दर्ता र निस्सा वितरण कार्य हुँदैछ । आयोगका अनुसार  थप दुई हजार ४१५ जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि तयारी अवस्थामा छ ।

आयोगका अनुसार हालसम्म ५३ हजार ७०५ जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । जसमध्ये आठ हजार ३०० निकुञ्ज क्षेत्रभिका छन् ।  आयोगले दोस्राे र तेस्राे सूचनाबाट करिब १५ हजार सङ्ख्या बढ्न सक्ने अनुमान गरेको छ ।

  • २३ श्रावण २०८२, बिहीबार प्रकाशित

  • Nabintech