२४ श्रावण २०८२, शुक्रबार

कोहलपुरले फर्छ्यौट गर्यो २सय ७७ वटा मुद्दा
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८१र८२ मा २७७ वटा मुद्दा फर्छ्यौट गरेको छ ।नगरपालिकामा ३८० वटा मुद्दा परेकोमा २७७ वटा मुद्दा मेलमिलापका माध्यमबाट फर्छ्यौट गरिएको कोहलपुर नगरपालिकाको न्यायिक समितिका सदस्य सचिव आशिष वर्माले जानकारी दिएका छन। १०३ वटा मुद्दा भने प्रक्रियामा रहेको वर्माले बताए ।

सदस्य सचिव वर्माका अनुसार न्यायिक समितिमा दर्ता हुन आएका विवादहरु मध्ये लेनदेनसँग सम्बन्धित विवादहरु सबैभन्दा बढी ८६, घर जग्गासम्बन्धी ७५, पारिवारिक मामिलासम्बन्धी ३७, बाटोसम्बन्धी २३, घरबहालसम्बन्धी विवादहरु १३ वटा रहेका छन् ।त्यसैगरी, बाली नोक्सानी ५, अंश विवाद ५, ज्याला मजदुरीसम्बन्धी २, गाली बेइजतीसम्बन्धी १ र अन्य प्रकृतिका विवादहरु ३० वटा रहेका छन् ।

कोहलपुर नगरपालिकाका अनुसार स्थानीयस्तरमा र वडातहबाटै मेलमिलापको माध्यमबाट विवादको समाधान गर्ने उद्देश्यका साथ ७६ जना मेलमिलापकर्ताहरु सूचीकृत गरिएको छ । विवादका दुवै पक्षहरुलाई जित जितको अवस्था हुने गरी विवाद समाधानमा सहभागितामूलक पद्धति अवलम्बन गरी न्यायिक निरुपण गर्ने गरिएको कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले जानकारी गराइन।

कोहलपुर नगरपालिकाअन्तर्गतको न्यायिक समितिले १५ वटै वडामा १५ वटा मेलमिलाप केन्द्रबाट विवाद समाधानका लागि दुवै पक्षहरुको आवाज र विचारको प्रतिनिधित्व गर्दै नागरिकले न्यायको अनुभूती गर्ने गरी न्यायिक सम्पादनको कार्य गर्दै आएको छ ।

  • २४ श्रावण २०८२, शुक्रबार प्रकाशित

  • Nabintech