२४ श्रावण २०८२, शुक्रबार

बाँके प्रहरीमा खुमा अर्यालविरुद्ध ठगीको जाहेरी दर्ता
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगन्जमा सञ्चालनमा ल्याइएको भनिएको सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिका सञ्चालक खुमाप्रसाद अर्यालविरुद्ध बाँके प्रहरीमा मुद्दा दर्ता भएको छ । नेपालगन्ज वडा नम्बर १० का करण वर्माले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता गर्न नमानेको बाँके प्रहरीलाई अदालतले मुद्दा दर्ता गर्न आदेश दिएको थियो । उक्त आदेशपछि प्रहरीले मुद्दा दर्ता गरेको हो ।

करणले अर्यालले नेपालगन्जमा सञ्जिवनीका नाममा सरकारले तोकेका विभिन्न नियम तथा मापदण्डहरू उल्लंघन गरी कुनैपनि निकायबाट अनुमति नलिइकनै तीन सय बेडको अस्पताल चलाउने भन्ने झुठो प्रचार गरी ठगीजन्य अपराध गरेको आरोपसहित २०८१ सालको चैत महिनामै बाँके प्रहरीमा जाँदा प्रहरीले उक्त मुद्दा दर्ता गर्न इन्कार गरेको थियो ।

त्यसपछि करण उक्त मुद्दा लिएर आफू जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेको बताउँछन् । तर, जिल्ला प्रशासन कार्यालयले पनि उजुरी लिन नमानेपछि उनी सरकारी वकिल कार्यालयमा पुगेका थिए । सरकारी वकिलको कार्यालयले पनि उजुरी दर्ता गर्न नमानेपछि करणले २०८२ वैशाख ५ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा ती कार्यालयका प्रमुखहरूलाई विपक्षी बनाएर उजुरी दर्ता गर्न परमादेशको माग गर्दै मुद्दा दायर गरेका थिए ।

करणले दायर गरेको मुद्दामा असार २५ गते परमादेश जारी गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश चन्द्रबहादुर सारु र वसन्तराज पौडेलको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयलाई उजुरी दर्ता गर्न आदेश दिएको थियो । तर, अदालतले आदेश दिएको करिब दुई हप्तासम्म पनि बाँके प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन । प्रहरीले अदालतको आदेशको समेत अवहेलना गरेको भन्दै करणले विभिन्न संस्थाहरू गुहारेका थिए । त्यसपछि प्रहरीले साउन ९ गते जाहेरी दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार १८५ दर्ता नम्बरमा उक्त जाहेरी दर्ता भएको छ ।

डीएसपी पातली उक्त मुद्दाको विषय प्रहरीको क्षेत्राधिकारको देखिएमा थप अनुसन्धान गर्ने नभए तामेलीमा पठाउने बताउँछन् । प्रहरीले अदालतमा दिएको जवाफी पत्रमा अनुमति नलिई अस्पताल सञ्चालन गरेको विषयको अनुसन्धान आफ्नो क्षेत्राधिकारको विषय नभएको र ठगीतर्फको जाहेरीमा कसले कति ठगी गरेको स्पष्ट नभएकोले जाहेरीमा विश्वसनीयता नरहेको हुँदा दर्ता नगरेको जवाफ दिएको थियो । अदालतले जाहेरी दर्ता गर्नु प्रहरीको दायित्व भएको भन्दै पहिला दर्ता गरेर निकास दिनु भनेको थियो ।

प्रहरीले अहिले पनि उजुरी आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै तामेलीमा राख्ने सम्भावना बढी रहेको स्रोतको भनाइ छ । उक्त उजुरी दर्ता नगर्नका लागि प्रहरीले काँग्रेसको केन्द्रीय राजनीतिमा पहुँच राख्ने एक नेताले दबाब दिँदै आएको स्रोतको भनाइ छ । अब मुद्दा दर्ता भइसकेपछि पनि उक्त मुद्दामा अनुसन्धान हुने सम्भावना न्यून रहेको बताइएको छ ।

जाहेरीकर्ता करण भने आफूले दिएको जाहेरीमा तथ्यपूर्ण कुराहरू नै रहेको, अनुमति नै नलिइकन अस्पताल सञ्चालन गर्न जनताको जीवनसँग जोडिएको गम्भीर विषय भएकोले प्रहरीले अनुसन्धान अघि बढाउनुपर्ने बताउँछन् । ‘यस्तो विषयमा अनुसन्धान हुँदैन भने सरकारले कस्तो विषयमा अनुसन्धान गर्छ ? प्रहरीले पहिला जनताको पक्षमा सोचेर अनुसन्धान अघि बढाउनुपर्छ,’ करणले मिसन टुडेसँग भने ।

नेपालगन्ज मेडिकल कलेजका मुख्य सञ्चालकसमेत रहेका अर्यालले गत वर्ष मंसिर महिनामा मेडिकल कलेजको शिक्षण अस्पताल सञ्चालन भइरहेको नेपालगन्जस्थित तत्कालीन नेपालगन्ज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको भवनमा आफ्नो अर्काे कम्पनी सञ्जिवनीले तीन सय बेडको अस्पताल सञ्चालन गर्न लागेको भन्दै झुटो प्रचार गराएका थिए ।

जबकी उक्त संरचनामा एक सय बेडको अस्पतालको मात्रै क्षमता रहेको छ । अहिले पनि पहिले शिक्षण अस्पतालको बोर्डको ठाउँमा सञ्जिवनीको बोर्ड राखिएको छ । जबकी सञ्जिवनीले अहिलेसम्म कुनैपनि निकायबाट अस्पताल सञ्चालनको अनुमति लिएको छैन । सेवाग्राहीहरू अस्पताल सञ्जिवनीको हो या मेडिकल कलेजको हो ? झुक्किने अवस्था छ । अस्पतालभित्र सञ्जिवनी र मेडिकल कलेज दुवैको नाममा आर्थिक कारोबार हुने गरेको आरोप लाग्दै आएको छ ।

  • २४ श्रावण २०८२, शुक्रबार प्रकाशित

  • Nabintech