बाँके\ श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमामा प्रयोग गरिने जनै र डोरोको प्रचलन गाउँघरमा आजभोलि भने कम हुँदै गएको छ । पहाडी जिल्लामा पनि जनै पूर्णिमामा डोरो बाँध्ने परम्परा छ भने तराईका जिल्लाहरूमा जनै पूर्णिमासँगै राखी बाँध्ने परम्परा रहँदै आएको छ । वैद्यिक गुरु परम्परा अनुसार जनैलाई ब्रम्ह्रासुत्र अथवा ज्ञानको धागो समेत भनिन्छ ।
पहिलापहिला घरमानै डोरो र जनै बनाएर श्रावण सुक्ल पूर्णिमाको दिन त्यसलाई पुजेर लगाइने गरेको भएपनि आजभोलि बजारमा आयातित जनै र डोरोको प्रयोग बढ्दै जाँदा घरमा बनाउने जनै र डोरोको प्रचलन भने हराउँदै गएको छ ।
नेपालमा पछिल्लो समय भारतबाट आयात गरिने जनै र डोरोसहित राखिको प्रचलन बढ्दै गएको देखिन्छ । बजारमा जताततै खरिद गर्न पाइन थालेपछि अहिले गाउँघरमा निर्माण गरिने जनै र डोरोको प्रचलन कम हुँदै गएको हाे ।
नेपालमानै उत्पादन हुने धागो र कपासबाट बनाउने गरेको डोरो पछिल्लो समय भारतबाट बढी आयात हुने गरेको छ । आफ्ना पुर्खाहरूले जनै र डोरोमा रङ्गाउने रङ्ग नभए पछि माटोमा डुबाएर त्यसको रङ्ग निकालेर लगाउने गरेको स्थानीयको भनाइ छ । यसरी आफैँले बनाएकाे जनै र डोरो वर्ष भरी प्रयोग गर्ने चलन थियाे ।