इलाम – समता स्कुल पूर्वी कन्सोर्टियमको ‘Elevate to Improve’ अभियान अन्तरगत समता स्कुल, इलाममा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोछ। पूर्वी कन्सोर्टियमका पदाधिकारीसहितको उपस्थितिमा सम्पन्न कार्यक्रममा कन्सोर्टियम अन्तर्गतका समता स्कुलहरूमा चरणबद्ध रूपमा अभिभावकसँग अन्तरक्रिया गर्दै विद्यालयहरूलाई अझ उत्कृष्ट बनाउने, अभिभावकका गुनासा र सुझाव सुनी समाधानका उपाय खोज्ने, विद्यालयका समस्या पहिचान गरी उचित सल्लाह दिने तथा भावी रणनीति तय गर्ने उद्देश्य रहेको कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिए।
उनका अनुसार यस्ता छलफलमा उठेका गम्भीर विषयहरू समता स्कुलका केन्द्रीय पदाधिकारीसम्म पुर्याइनेछ, जसबाट विद्यार्थीको सर्वाङ्गिण विकासमा थप टेवा पुग्ने विश्वास लिइएको छ।
कन्सोर्टियमका ई.सी.ए. प्रमुख तथा समता लहानका प्रिन्सिपल कमल लामाले अघिल्लो महिना लहानमा सम्पन्न यस्तै कार्यक्रममा विद्यालय, विद्यार्थी, शिक्षकका धेरै समस्या पहिचान हुनका साथै अभिभावकका जिज्ञासाहरू समाधान भएको अनुभव सुनाए।
त्यस्तै समता इलामका प्रिन्सिपल तथा कन्सोर्टियमका शिक्षा विभाग प्रमुख देवेन्द्र पौडेलले अभिभावकको सक्रिय सहभागिता र सल्लाह सुझावलाई आत्मसात गर्दै विद्यालयले अझ राम्रो कार्य अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले भने, “हुन त हामीले विगतमा यस्ता अन्तरक्रिया कक्षागत रूपमा गर्दै आएका थियौं, तर यसरी कन्सोर्टियम पदाधिकारीको उपस्थितिमा गरिएको कार्यक्रम अझ प्रभावकारी रह्यो। अब यस प्रकृतिका कार्यक्रममार्फत विद्यालयहरूलाई थप परिष्कृत बनाउन जुट्नेछौं।”
कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक र प्रशासनिक पक्षबारे अभिभावकको राय सुझाव संकलन गरिएको थियो। साथै, प्रथम आवधिक परीक्षाको उत्तरपुस्तिका र नतिजा समेत वितरण गरिएको थियो।
समता स्कुल पूर्वी कन्सोर्टियमले विगत ८ बर्षदेखि विभिन्न अन्तर जिल्ला प्रतियोगिताहरू आयोजना गर्दै आएको भए पनि यस्ता विशेष अन्तरक्रिया कार्यक्रम भने यसै वर्षदेखि सुरु गरेको हो। नर्सरीदेखि कक्षा १० सम्म समान तथा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता स्कुलका संस्थापक उत्तम कुमार सञ्जेल हुन्। पूर्वी नेपालसहित देशका अधिकांश जिल्लामा समता स्कुलले आफ्नो बलियो उपस्थिति जनाइसकेको छ।