३ भाद्र २०८२, मंगलवार

बैंकमा सुधार कति दिगो ?
  • न्युज मानसराेवर

व्यवसाय सामान्य अवस्थामा भए पनि कर्जा असुलीमा बैंकहरूको जोड तथा अप्ठ्यारो परेका क्षेत्रको कर्जा जोखिम व्यवस्था (प्रोभिजनिङ) मा नेपाल राष्ट्र बैंकले दिएको सहुलियतले गर्दा गत आर्थिक वर्ष (आव) २०८१/८२ मा वाणिज्य बैंकहरूको खुद नाफा करीब साढे ४३ प्रतिशतले वृद्धि भएको छ । बैंकहरूमा अधिक तरलताको अवस्थामा सुधार आउन सकेको छैन किनभने कर्जाको माग बढ्न सकेको छैन । अर्थतन्त्रका प्रायः सबै क्षेत्र सकारात्मक बन्दै जान थालेको परिप्रेक्ष्यमा बैंकहरूको अवस्थामा पनि सुधार आउनु त उपयुक्त नै हो तर यो सुधार दिगो रहन्छ कि रहन्न भन्नेमा चाहिँ आशंका नै देखिन्छ ।

बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा २० ओटा वाणिज्य बैंकहरूले ७१ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो भनेको अघिल्लो वर्षको तुलनामा ४३ दशमलव ३९ प्रतिशतले बढी हो । तर, ७ खर्बको लगानीमा लाभांश बाँड्न मिल्ने फाइदा २१ अर्बको हाराहारीमा भएकाले वास्तविक औसत प्रतिफल ३ प्रतिशतमात्रै भएको भनी बैंकका लगानीकर्ताले असन्तुष्टि पोखेका छन् । गत आवमा बैंकहरूको खुद ब्याज आम्दानीमा ३ करोड रुपैयाँ कमी भएकाले मुनाफा वृद्धि दिगोमा आशंका जन्मिएको हो । खासमा अहिले बैंकहरूको खराब कर्जा ठूलै परिमाणमा छ । त्यसैले बैंकहरूले कर्जा विस्तारमा भन्दा कर्जा असुलीमा आफूलाई केन्द्रित गरिरहेको देखिन्छ । त्यसमा सुधार आएकाले प्रोभिजन कोषबाट रकम फिर्ता आउँदा नाफा बढेको देखिन्छ । यद्यपि अझै केही बैंकको प्रतिशेयर आम्दानी नकारात्मक नै देखिन्छ ।

नियामकको सहजीकरणसँगै आर्थिक गतिविधि चलायमान हुँदा त्यसको प्रभाव बैंकहरूको वित्तीय विवरणमा देखिएको हो । राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत फागुनदेखि बैंकहरूको असल कर्जाको प्रोभिजन घटाएर १ प्रतिशतमा झारेको थियो । यसैगरी, राष्ट्र बैंकले पटकपटक विभिन्न क्षेत्रका कर्जा पुनः संरचना तथा पुनः तालिकीकरण गर्ने सुविधा दिएको छ । परिस्थितिवश समस्यामा परेका ऋणीको अनुरोधमा व्यावसायिक योजना तथा नगदप्रवाह लगायत पक्षहरूको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा यस्तो सुविधा दिन सकिने प्रावधान छ । जे भए पनि बैंकहरूको मुनाफामा सुधार आउँदा त्यसले अर्थतन्त्रलाई थप चलायनमान बनाउने देखिन्छ । त्यस्तै मुनाफा वितरण गर्दा पनि बोनश शेयरभन्दा नगद लाभांशलाई प्राथमिकता दिने हो भने त्यसले बजारमा नगद प्रवाह बढाउँछ जसले माग वृद्धि गरी अर्थतन्त्रलाई थप गति दिन सक्छ ।

अर्को, नियामकले नीति खुकुलो बनाएका कारण बैंकहरूको मुनाफा बढेको भएकाले बैंकको लाभांश क्षमता बढे पनि तिनको शेयर मूल्य अपेक्षाकृत कमै बढेको लगानीकर्ताको भनाइ छ । यसले शेयरबजारका लगानीकर्तामा बैंकहरूमा आएको सुधारप्रति पूर्ण आशावादी नबनाएको हो कि भन्ने शंकाको लाभ दिएको छ ।

त्यसो त अहिले अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले १० ओटा ठूला बैंकहरूको अन्तरराष्ट्रिय परीक्षकबाट लेखापरीक्षण गराइरहेको छ । कर्जा विस्तार मुलुकको अर्थतन्त्र बराबर भए पनि त्यसको अनुपातमा अर्थतन्त्रको विस्तार भएको छैन । त्यसैले बैंकहरूको सम्पत्तिको गुणस्तरमा आईएमएफको चासो रहेको हो भन्न सकिन्छ ।

अहिले बैंकहरूसँग अधिक तरलता भए पनि बजारमा माग बढ्न नसक्दा कर्जाको माग पनि बढ्न नसकेको देखिन्छ । यस्तो माग बढाउन मौद्रिक नीतिमात्र पर्याप्त हुँदैन, वित्तीय नीति पनि यस्तै हुनुपर्छ र यसको कार्यान्वयन पनि प्रभावकारी हुनुपर्छ । सरकारले अर्थतन्त्रका सूचकहरूलाई जतिसुकै सकारात्मक भनेर प्रचार गरे पनि अपेक्षा र आवश्यकताको दाँजोमा त्यो निकै कम छ । त्यसो हुँदा जबसम्म सरकारले आर्थिक पुनः संरचनाको क्रान्तिकारी कदम चाल्दैन तीव्र गतिले अर्थतन्त्र सकारात्मक बन्दैन । अहिले  जुन कछुवा गतिको सुधार छ त्यसले पुग्दै पुग्दैन । अतः सरकारले पूँजीगत खर्चमा सुधार ल्याउनुका साथै पूर्वाधार आयोजनाहरूको गति तीव्र बनाउनैपर्छ ।

  • ३ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech