बाँके\लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले ७० जना स्वास्थ्यकर्मीको एकैपटक सरुवा गरेको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विभिन्न जिल्लामा कार्यरत चौथो तहदेखि आठौं तहसम्मका स्वास्थ्यकर्मीको सरुवा गरिएको हो ।
सरुवा हुनेमा विभिन्न अस्पतालहरूमा कार्यरत मेडिकल अधिकृतदेखि एचएसम्म छन् । मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक एवं प्रवक्ता नोदनारायण चौधरीका अनुसार मन्त्रालयको भदौ ६ गतेको सचिवस्तरीय निर्णयबाट २ जना मेडिकल अधिकृत, ४ वरिष्ठ नर्सिङ अधिकृत, १ जना जनस्वास्थ्य अधिकृतसहित ७० जना स्वास्थ्यकर्मीको सरुवा गरिएको हो ।
मन्त्रालयले आयुर्वेद चिकित्सा तर्फ पनि ७ जनाको सरुवा गरेको छ । १ जना आयुर्वेद चिकित्सकसहित १५ जना अधिकृतको सरुवा भएको छ ।‘आठौं तहका ९ जना, सातौं तहका ६ जना, छैठौं तहका ३२ जना, पाँचौं तहका २० जना र चौथो तहका ३ जना गरी ७० जनाको सरुवा गर्ने निर्णय भएको छ,’ उनले भने, ‘सरुवा एकैपटक गरिए पनि सुगम, दुर्गम क्षेत्र हेरेर स्वास्थ्यकर्मीको सरुवा गरिएको हो ।’
सरुवामा दुर्गम मानिने रोल्पा अस्पतालमा ५ जना स्वास्थ्यकर्मीको सरुवा गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा वरिष्ठ नर्सिङ अधिकृतका रूपमा कार्यरत ज्योति पौडेललाई रोल्पा अस्पतालमा सरुवा गरिएको छ । रोल्पामा कार्यरत लक्ष्मी पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा सरुवा गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशकै अर्को दुर्गम जिल्ला रुकुमपूर्वमा जनस्वास्थ्य अधिकृत पशुपति आचार्यसहित ५ जना स्वास्थ्यकर्मी पठाइएको छ । आचार्यलाई गुल्मीबाट रुकुम पूर्व सरुवा गरिएको हो ।
सरुवामा सुगम र ठूला अस्पताल रोज्ने स्वास्थ्यकर्मीको संख्या ठूलो रहे पनि मन्त्रालयले दुर्गम र बिरामीको चाप बढी हुने अस्पताल हेरेर सरुवालाई प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताए ।
‘सेवा प्रवाहको अवस्था हेरेर दरबन्दी र तहअनुसारकै स्वास्थ्यकर्मी खटाएका छौं,’ उनले भने, ‘सरुवाको चाप स्वाभाविक रूपमा सुगम रोज्नेहरूको बढी थियो, मन्त्रालयले सकेसम्म समस्या समाधान हुने गरी सरुवाको व्यवस्थापन गरेको छ ।’मन्त्रालयले मेडिकल अधिकृत, जनस्वास्थ्य निरीक्षकसँगै आयुर्वेद, वैद्य निरीक्षक, डेन्टल, ल्याब टेक्निसियन, रेडियोग्राफी निरीक्षक, स्टाफ नर्स, रेडियोग्राफर, एचएलगायतका पदका स्वास्थ्यकर्मी बढी सरुवा गरेको उनले बताए । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, दाङको राप्ती प्रादेशिक अस्पताल, भीम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल पश्चिम नवलपरासीलगायतका अस्पतालहरूमा अहिले पनि स्वास्थ्यकर्मीको चाप बढी छ ।
स्वास्थ्यकर्मीले सुगम क्षेत्र रोज्दा सहरका अस्पतालमा स्वास्थ्यकर्मी बढी हुने र दुर्गम जिल्लाहरूमा स्वास्थ्यकर्मी नै नहुने अवस्था छ । तर अहिलेको सरुवामा त्यस्तो समस्या अन्त्य गर्ने प्रयास गरिएको मन्त्रालयका प्रवक्ता चौधरीले बताए ।