३१ भाद्र २०८२, मंगलवार

बाँकेका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा खजुरा उत्कृष्ट
  • न्युज मानसराेवर

 बाँके\बाँकेको खजुरा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा बाँकेका ८ स्थानीय तहमा उत्कृष्ट पालिका भएको छ ।

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) का आधारमा खजुराले २०८०/८१ मा ८५.७५ अंक ल्याएर जिल्लामा उत्कृष्ट पालिका भएको हो ।त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले समान ८२.७५ अंक ल्याएका छन् भने नेपालगन्ज उपमहानगरपालिकाले ८२ अंक ल्याएको छ । त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिकाले ८१.७५, बैजनाथ गाउँपालिकाले ७६.५० र जानकी गाउँपालिकाले कार्यसम्पादन मूल्यांकनमा ७३ अंक पाएका छन् ।

स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकिय प्रकृया र विकास व्यवस्थापनमा सुधार गर्न स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिएको छ ।खजुराले शासकीय प्रबन्धमा ८.५०, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ अङ्क पाएको छ । वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.२५, सेवा प्रवाहमा १२.५०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७, सहकार्य तथा समन्वयमा ५.५० अङ्क ल्याएको छ ।

कार्यविधिले तोकेबमोजिमका इन्डिकेटरका आधारमा जनप्रतिनिधिले नीति, कार्यक्रम र आवश्यक निर्णय गर्ने तथा कर्मचारीको कुशलतापूर्वक जिम्मेवारी कार्यसम्पादन गरी अभिलेखीकरण गरेकोले उत्कृष्ट नतिजा ल्याउन सफल भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक तुफानले बताए ।

  • ९ भाद्र २०८२, सोमबार प्रकाशित

  • Nabintech