बाँके\बाँकेको कोहलपुर नगरपालिका–२ स्थित १३ बिघा मैदानमा अत्याधुनिक सुविधासहितको फुटबल रङ्गशाला बन्ने भएको छ ।
रङ्गशालाको आइतबार कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख सङ्गीता सुवेदी र कोहलपुर–२ का वडाध्यक्ष हरि कठायतले शिलान्यास गरेका छन। अनुमानित २२ करोड रुपियाँ लागतमा सम्पन्न हुने रङ्गशालाका लागि १३ बिघा मैदान छुट्याइएको छ ।
रङ्गशालाका लागि केही महिना पहिले नै डिपिआर तयार पारिएको थियो । डिपिआर तयार भएपछि नगरपालिकाले गत वैशाख महिनामा रङ्गशाला निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको थियो ।
पहिलो चरणमा रङ्गशालाको प्याराफिट निर्माण गरिने छ । कुल सात करोड रुपियाँको लागतमा रङ्गशालाको प्याराफिट निर्माण हुने कोहलपुर नगरपालिकाले जनाएको छ । प्रतिस्पर्धामार्फत रङ्गशाला निर्माणको जिम्मा कोहलपुर–२ स्थित शुभ आर्शीवाद–श्री विजी.जेभीले पाएको छ । निर्माणका कार्यकालागि नगरपालिका र निर्माण व्यवसायीबिच एक वर्षे सम्झौता भएको छ ।