३० भाद्र २०८२, सोमबार

बाँकेका सुधारगृह र कारागारबाट भागेका २८५ कैदीबन्दी सम्पर्कविहिन
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्लाका दुई वटा बाल सुधारगृह र एउटा कारागारबाट भागेका ३४० जना बालबन्दी र कैदीहरूमध्ये २८५ जना अझै पक्राउ परेका छैनन् । भागेका मध्ये हालसम्म ५७ जना मात्रै पक्राउ परेको कारागार र बाल सुधारगृहले जनाएका छन् ।

जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बाल सुधारगृहबाट भागेका १९३ जना बालबन्दीमध्ये ४० जना पक्राउ परेको तथा नौबस्ता क्षेत्रीय कारागारबाट भागेका १४७ जना कैदीमध्ये १७ जना पक्राउ परेको जनाइएको हो ।

डुडुवास्थित जयन्दु बालसुधार गहृका प्रमुख किशोर शर्माले सुधारगृहमा रहेका २२८ जना बालबन्दीमध्ये ११५ जना भागेकोमा २३ जना पक्राउ परेको र ९२ जनाको खोजी भइरहेको बताउनुभयो ।

फरार रहेकाहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको र केही आफै फर्किएको प्रमुख शर्माले बताउनुभयो । सोही प्रकारले नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७६ जना बालबन्दी मध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको र ७८ जना भागेको बताउनुभयो । भागेका मध्ये हालसम्म १७ जना मात्र पक्राउ उहाँले परेको बताउनुभयो । सो सुधारगृहका ६१ जना बालबन्दीको खोजी कार्य भइरहेको छ ।

यसैगरी नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका १४७ जना कैदी मध्ये १७ जना पक्राउ परेको तथा १३० जनाको खोजी भइरहेको सो कारागारका प्रमुख जालन्धर भुषालले बताउनुभयो। उक्त कारागारमा ५८५ जना कैदीहरू रहेका थिए । अझै पनि फरार रहेको २८५ जना बालबन्दी र कैदीहरूको खोजी कार्य भइरहेको तथा ती मध्ये धेरै जना सीमापारी पुगेको अनुमान पनि गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जेनजी आन्दोलनको समयमा बाँके लगायत देशभरिकै विभिन्न बाल सुधारगृह र कारागारबाट कैदीबन्दीहरू भागेका थिए । तर, नेपालगन्जस्थित कारागारबाट कैदीहरूले भाग्ने प्रयास गरे पनि सेनाको घेराबन्दीका कारण भाग्न सफल भएका थिएनन् । सो क्रममा सेनाले गोली चलाउँदा कैलाली निवासी एक जना कैदीको खुट्टामा गोली समेत लागेको थियो ।

 

  • ३० भाद्र २०८२, सोमबार प्रकाशित

  • Nabintech