७ आश्विन २०८२, मंगलवार

कारागारबाट भागेका २सय ५९ कैदीबन्दी अझै फरार
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४० जना बालबन्दी र कैदीमध्ये २५९ जना अझै फरार छन्। भागेका मध्ये हालसम्म ८१ जना मात्रै पक्राउ परेको कारागार र बाल सुधारगृहले जनाएका छन्।

फरार रहेका कैदीबन्दीमध्ये नौबस्ता बालसुधार गृहका ५५ जना, नौबस्ता क्षेत्रीय कारगारका १२२ जना र जयन्दु बालसुधार गृहका ८२ जना रहेको जनाइएको छ।डुडुवास्थित जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले सुधारगृहमा रहेका २२८ जना बालबन्दी मध्ये ११५ जना भागेकोमा ३३ जना पक्राउ परेको र ८२ जनाको खोजी भइरहेको बताए ।

नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७६ जना बालबन्दी मध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको र ७८ जना भागेकोमा हालसम्म २३ जना मात्र पक्राउ परेको बताउनुभयो। सो सुधारगृहका ५५ जना बालबन्दीको खोजी भइरहेको छ।

नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका १४७ जना कैदीमध्ये २५ जना पक्राउ परेको तथा १२२ जनाको खोजी भइरहेको सो कारागारका प्रमुख जालन्धर भुषालले बताउनुभयो। उक्त कारागारमा ५८५ जना कैदी थिए। फरार रहेको २५९ जना बालबन्दी र कैदीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जेनजी आन्दोलनको समयमा बाँके लगायत देशभरिकै विभिन्न बालसुधार गृह र कारागारबाट कैदी बन्दी भागेका थिए। तर, नेपालगन्जस्थित कारागारबाट कैदीले भाग्ने प्रयास गरेपनि सेनाको घेराबन्दीका कारण भाग्न सफल भएका थिएनन्। सो क्रममा सेनाले गोली चलाउँदा कैलाली निवासी एकजना कैदीको खुट्टामा गोली लागेको थियो।

  • ६ आश्विन २०८२, सोमबार प्रकाशित

  • Nabintech