काठमाडौं । समता स्कूलले आफ्नो शैक्षिक संस्थामा कुनै पनि व्यापारी वा कलाकारको संलग्नता नरहेको स्पष्ट पारेको छ । हालै विभिन्न व्यक्तिहरूले गरेको भ्रामक प्रचारप्रति आपत्ति जनाउँदै विद्यालयले बिहिवार एक विज्ञप्ति जारी गर्दै सो कुराको पुष्टि गरेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईले हालसालै एक कार्यक्रममा बोल्दा विद्यालयको बारे भ्रम फैलिएको भन्दै समता स्कुलले प्रष्ट्याएको छ – “समता शिक्षा निकेतन/समता स्कूल/समता एजुकेशन ट्रष्टमा कुनै कलाकार वा व्यवसायीको लगानी छैन ।”
विद्यालयका अनुसार समता स्कूलका संस्थापक उत्तम कुमार संजेल मात्रै हुन् । तत्कालीन गोठाटार गाविस (हाल कागेश्वरी मनोहरा–९, काठमाडौं) निवासी संजेलले आफ्नो अग्रसरता बिगत २५ बर्षदेखि नितान्त व्यक्तिगत तथा केहि समाजसेवीहरूको सहयोगमार्फत विद्यालयहरु सञ्चालन गर्दै आएका छन् ।
विद्यालयले केही स्वार्थ समूहले “समता” नामको दुरुपयोग गरी विद्यालयको उद्देश्य र मर्यादाविपरीत गतिविधि गरिरहेको र समाजमा नकारात्मक भ्रम फैलाएको आरोपसमेत लगाएको छ ।
हाल देशका अधिकांश जिल्लामा सञ्चालन भैरहेका समता स्कूलहरूले सम्पूर्ण कक्षामा समान र न्यून शुल्कमा अध्यापन गराइरहेका छन् । विद्यालयका अनुसार यसको उद्देश्य सबैका लागि सहज र सुलभ शिक्षा प्रदान गर्नु हो।