२८ आश्विन २०८२, मंगलवार

सतर्कता अपनाउ
  • न्युज मानसराेवर

बंगालको खाडीबाट नयाँ मौसमी प्रणाली उत्पन्न भएदेखि नै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले त्यसयता पल–पलको सूचना जानकारी गराउँदै आएको छ । त्यसै आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न निर्णय गरेको छ र त्यसअनुसार सरकारी संयन्त्र परिचालन गरिएको छ । यही कारण चाडबाडको मध्यमा ठूलो वर्षा भए पनि क्षति भने तुलनात्मक रूपमा कम नै भएको देखिन्छ । मौसम पूर्वानुमानमा गरिएको लगानी कति महत्त्वपूर्ण हुँदो रहेछ भन्ने कुरा अहिले प्रमाणित भएको छ ।

त्यस्तै सरकारी तदारुकताले क्षति न्यून गर्न सकिन्छ भन्ने पनि देखाएको छ । त्यसैले जथाभावी हल्लाका पछि लाग्नुभन्दा पनि सही सूचनाको महत्त्व आवश्यक हुन्छ भन्ने देखिएको छ । यद्यपि जोखीम अझै उच्च छ किनभने अझै २४ घण्टा ठूलो वर्षाको सम्भावना देखिएको छ ।

गत वर्ष पनि यही समयताका ठूलो वर्षा भएको थियो तर सरकारले त्यसको सही तयारी नगर्दा ठूलो क्षति भोग्नु परेको थियो ।  त्यस्तै सर्वसाधारणले सरकारी सूचना अवज्ञा गर्दा पनि क्षति बढेको थियो । तर पनि एउटा यथार्थ के हो भने पछिल्ला वर्षमा मौसम पूर्वानुमानमा भएको उल्लेखनीय प्रगति आशाजनक छ । अहिले भइरहेको ठूलो वर्षा र झरीबारे जल तथा मौसम विज्ञान विभागले दिएको चेतावनी ठ्याक्कै मिलेको छ । त्यसैका आधारमा सरकारले राजमार्गमा आवतजावत रोकेको, विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय पारेको र नागरिकलाई सचेत गराएको छ । यसपटकको निर्णयले जनधनको क्षति कम गर्ने अपेक्षा बलियो छ । विज्ञानमा गरिएको लगानीले प्रतिफल दिएको स्पष्ट प्रमाण यही हो ।

यो प्रगति आकस्मिक सम्भव भएको होइन । विगत केही वर्षमा विभागले स्वदेशी स्रोत र विदेशी सहकार्यमार्फत नयाँ प्रविधि भित्र्याएको छ । फिनल्यान्डको सहयोगमा गणितमा आधारित पूर्वानुमान प्रणाली, आफ्नै लगानीमा जडान गरिएका राडार, भारत, चीन र जापानका मौसमीय उपग्रहबाट प्राप्त हुने प्रतिमिनेट तस्वीरहरूले भविष्यवाणीलाई थप यथार्थपरक बनाएका छन् । प्राविधिक क्षमता मात्र होइन, विभागका कर्मचारीहरूको सतत अध्ययन, अनुभव र कडा मेहनतले पनि यो प्रगति सम्भव भएको हो ।

तर, चुनौती अझै ठूलो छ । महाशाखामा आवश्यकताअनुसार कर्मचारी छैनन् । तीन सिफ्टमा आलोपालो गरेर सम्पूर्ण देशलाई सूचना दिइरहेका छन् । यति थोरै जनशक्तिबाट आएको नतिजा उत्साहजनक भए पनि दीर्घकालीन दृष्टिले यो पर्याप्त छैन । पूर्वानुमानमा त्रुटि घट्दै गए पनि प्राविधिक संरचना, अनुसन्धान, जनशक्ति र पहुँचमा अझै धेरै लगानी आवश्यक छ ।

मौसम विज्ञानलाई समाजले कतिपय बेला रमाइला चुट्किला वा असन्तुष्टिको विषय बनाउँछ । सयौं भविष्यवाणी मिल्दा पनि खासै चर्चा हुँदैन तर केही मिलेन भने आलोचना बढ्छ । यसले एउटा कुरा देखाउँछ, विज्ञानमाथि समाजको विश्वास क्रमशः गहिरिँदै गएको छ ।

जलवायु परिवर्तनका कारण विपद्ले बढी चर्को रूप लिन थालेको छ । एशियाली विकास बैंकको एक अध्ययनअनुसार जलवायु परिवर्तनका कारण सन् २०५० सम्म नेपालले वर्षेनि कुल गार्हथ्य उत्पादन (जीडीपी) को २ दशमलव २ प्रतिशत गुमाउने खतरा छ । त्यसैले जलवायु परिवर्तन मौसमी विषयमात्र होइन आर्थिक विषय पनि हो ।

यस्तो अवस्थामा मौसम पूर्वानुमान प्रणालीलाई अझ परिष्कृत गर्नु अपरिहार्य छ । यो विपद् न्यूनीकरणका लागि मात्र होइन, कृषि, पर्यटन र आर्थिक गतिविधिका लागि पनि लाभकारी हुन्छ । किसानले बाली छान्दा, पर्यटन व्यवसायीले मौसमअनुसार योजना बनाउन वा स्थानीय सरकारहरूले पूर्वाधार विकासमा प्राथमिकता तोक्न यस्ता तथ्यांक अमूल्य हुन्छन् । त्यसैले, अब सरकार र सम्बन्धित निकायको प्रमुख जिम्मेवारी भनेको सबै तथ्यांक र अनुसन्धानलाई खुला पहुँच दिनु हो ।

यसपटकको वर्षाले पुनः देखाएको छः सतर्कता र पूर्वसूचना भए क्षति न्यून गर्न सकिन्छ । यस सम्बन्धमा सरकारका चेतावनीलाई पालना गरे जनधन जोगिन्छ पालना नगरे विपरीत परिणाम आउँछ । त्यसैले, समयमै चनाखो बन्ने अभ्यासलाई निरन्तरता दिनुपर्छ ।

  • १९ आश्विन २०८२, आईतवार प्रकाशित

  • Nabintech