बाँके\मनसुनजन्य विपदका कारण बागमती, मधेस, कोशी प्रदेश लगायतका क्षेत्रमा जनधनको क्षति भए पनि लुम्बिनी प्रदेशमा खासै प्रभाव परेन । सोही कारण लुम्बिनी प्रदेशमा दसैँको रमझममा खासै कमी आएन । दसैँका अवसरमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सराय नाच देखाउने परम्परा छ । सोही अनुरुप विभिन्न ठाउँमा सराय नाच जारी छ ।
टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म आ–आफ्नो परम्परा अनुसार फरक–फरक दिनमा यो नाच हुने गर्दछ । लुम्बिनी प्रदेशका पहाडी जिल्लाका विभिन्न कोट तथा मन्दिरहरूमा खेलिने यो नाच पछिल्लो समय बसाइसराइसँगै तराईका जिल्लाहरूमा पनि खेल्न थालिएको हो ।
निधारमा रातो टीका, घाँटीमा धजा वा जमराको माला लगाउँदै मान्छेको भिडमा एउटा हातमा खुँडा, तरबार, भाला र अर्को हतमा ढाल वा रुमाल लिएर सराय नाच नाच्ने गरिन्छ ।बाइसे चौबिसे राज्य हुँदाताका भुरे राजाले आफ्नो कोतमा सराय नाच नचाउने गरेदेखि यो परम्परा सुरु भएको संस्कृतिविद राजेन्द्रकुमार आचार्यले बताए ।
एकादशीको दिन अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुक, भूमिकास्थान नगरपालिका–५, असुर कोट लगायतका भगवती मन्दिरमा सराय नाच भएको छ ।गुल्मीको घुर्कोट गाउँपालिका पिपल धारा, कपिलवस्तुको गोरुसिङ्गेलगायतका ठाउँमा पनि यो नाच सम्पन्न भइसकेको छ ।आइतबार गुल्मी जिल्लाको मालिका गाउँपालिका अर्खावाङ्गमा सराय नाच नाचिएको छ । कपिलवस्तुको चन्द्रौटा, बुद्धभूमि नगरपालिको भेलही, पत्थरकोटमा सराय नाच भएको छ भने सोमबार गुल्मीको इस्मा गाउँपालिकामा हुँदैछ ।
पूर्णिमाको दिन गुल्मीको तम्घासको थोगीथुम, कालीगण्डकी गाउँपालिका–६ खड्ककोट खनिया पाटा लगायतमा यो नाच हुने छ ।पहाडी जिल्लाबाट दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा बसाइसराइ गर्नेहरूले त्यहीँ देवीको मन्दिर स्थापना गरी सराय नाचको सुरुवात गर्दैै आएका छन् । रुपन्देहीको बुटवलमा रहेको जितगढी, देवीनगरस्थित चौपारी लगायतमा पनि सराय नाच हुने गर्छ ।