काठमाडौँ \जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई पनि बोलाइएको छ ।
जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो ।
लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेको उनी निकट नेताहरुले बताएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकअघि आज ११ बजे कार्यसम्पादन समितिको बैठक पनि बस्ने छ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
मंसिर भित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन सकेको छैन ।