काठमाडौं \ चिनियाँ विज्ञहरूको टोलीले दैलेखको जलजलेमा प्राकृतिक ग्यासको ठूलो भण्डार रहेको पुष्टि गर्दै प्रारम्भिक प्रतिवेदन दिएपछि प्रतिवेदनलाई अन्तिम स्वरूप दिनुअघि नेपाल र चिनियाँ पक्षले यस विषयमा थप छलफल गर्ने भएका छन् ।
पेट्रोलियम पदार्थ अन्वेषणको जिम्मा पाएको चीनको छेङ्दु सेन्टर अफ चाइना जियोलजिकल सर्वेले गत असारमा दैलेख जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेमा अनुमानित १ खर्ब १२ अर्ब १० करोड (११२ दशमलव १ अर्ब) घनमीटर प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि गर्दै प्रारम्भिक प्रतिवेदन दिएको थियो । टर्कीको ब्ल्याक सीअन्तर्गत गोकटेपेमा गत मेमा भेटिएको प्राकृतिक ग्यास भण्डारभन्दा दैलेखको ठूलो हो । टर्कीमा ७५ अर्ब घनमीटरको ग्यास भण्डार भेटिएको थियो ।
‘उक्त प्रतिवेदनलाई अन्तिम रूप दिनुअघि दुई पक्षबीच यही हप्ता छलफल हुँदै छ,’ खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापितले भने । ‘यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विभागका प्रतिनिधि केही दिनमै चीन जाँदै छन् ।’
छेङ्दु सेन्टर अफ चाइना जियोलजिकल सर्वे र विभागबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले तयार पारेको अन्तिम प्रतिवेदनमाथि नेपाली पक्षले टिप्पणी गर्ने र त्यसलाई चिनियाँ पक्षले अन्तिम रूप दिने नापितले बताए । उनका अनुसार चिनियाँ पक्षले यो वर्ष डिसेम्बरसम्ममा अन्तिम प्रतिवेदन बुझाउने जानकारी दिएको छ ।
प्रारम्भिक अन्वेषणले पुष्टि गरेका विषयः
- मिथेन (सीएस४) ग्यासको मात्रा ९० प्रतिशतभन्दा बढी
- उत्पादन परीक्षणका लागि ६५ करोड रुपैयाँ आवश्यक
- परियोजनामा हालसम्म सवा २ अर्ब रुपैयाँ खर्च
- ग्यास उत्पादन गर्न तत्कालका लागि दुई विकल्प
दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गरी अन्वेषण कार्य अघि बढाइएको थियो । तुलनात्मक ठूलो प्राकृतिक ग्यासको भण्डार भेटिएपछि नेपालमा उत्साह छाएको छ । तर, उक्त प्राकृतिक ग्यास भण्डारबाट व्यावसायिक उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने निश्चित भएको छैन ।
यसअघि चिनियाँ कम्पनीलाई त्यहाँ भेटिएको प्राकृतिक ग्यासको उत्पादन परीक्षणका लागि अनुरोध गरिएको थियो । सोहीअनुसार उत्पादन परीक्षणका लागि पनि उक्त ग्यास अन्वेषणमा संलग्न संस्थाले गृहकार्य अघि बढाएको महानिर्देशक नापितले जानकारी दिए । ‘उत्पादन परीक्षणका लागि चिनियाँ कम्पनीले तयारी अघि बढाएको जानकारी हामीलाई दिएको छ,’ उनले भने ।
२०१६ मार्च २३ मा नेपाल र चीन सरकारबीच नेपालमा भएको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो । त्यसको ९ वर्षपछि दैलेखको उक्त स्थानमा ठूलो मात्रामा प्राकृतिक ग्यास रहेको पुष्टि गर्दै खानी तथा भूगर्भ विभाग र चिनियाँ टोलीले असारमा प्रारम्भिक प्रतिवेदन तयार गरेका थिए । यसका लागि हालसम्मको सबैभन्दा धेरै गहिरो (४,०१३ मीटर) अन्वेषणात्मक ड्रिलिङ सम्पन्न गरिएको थियो ।
दैलेखमा भएको विस्तृत पेट्रोलियम अन्वेषणको प्रारम्भिक नतिजाअनुसार हाल अन्वेषणात्मक ड्रिलिङ गरिएको वेल एनडीपी–१ मा विभिन्न किसिमका प्राकृतिक ग्यासका भण्डारहरू फेला परेका छन् । त्यस्ता भण्डारहरूमा मिथेन (सीएच ४)को मात्रा ९० प्रतिशतभन्दा बढी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । संसारभर अहिले वातावरणमैत्री उत्पादनका कुरा भइरहेका बेला दैलेखबाट उत्पादन हुने ग्यास खाना पकाउने एलपीजी ग्यासभन्दा निकै नै लाभदायी र वातावरणमैत्री हुने विश्वास विभागको छ ।
यसैगरी यो अवधिसम्ममा प्राकृतिक ग्यास रहेको पुष्टि गर्न त्यस क्षेत्रको चट्टानको २ हजार ५०० देखि ३ हजार ९४० मीटरसम्मको तहहरूमा जम्मा ९ ओटा इन्टरभलमा करीब ५० ओटा नमूना संकलन गरिएको थियो । साथै रक कटिङका ३ हजार २३ ओटा नमूना संकलन गरिएको थियो । यसबाहेकका अन्य जिल्ला दाङ, पाल्पा र सुनसरीमा विस्तृत पेट्रोलियम अन्वेषण सञ्चालन गर्ने योजना छ ।
अन्तिम प्रतिवेदन तयार भएसँगै यो परियोजनाका लागि विभागको काम पनि सकिने नापितको भनाइ छ । ‘प्रारम्भिक प्रतिवेदनको अन्तिम रूप मात्रै अहिले तयार हुने हो, खासगरी अब विभागको प्रतिवेदन तयार भएपछि यो परियोजनामा काम सकिन्छ,’ उनले भने । ‘कति लगानी, उपयोग, के कसरी उत्पादन र व्यावसायिक उत्पादनको कुरा नेपाल सरकारले छुट्टै अध्ययन गराएर अघि बढ्ने हो, हाम्रो पाटो भनेको अन्वेषण तथा अनुसन्धान गरेर भण्डार छ कि छैन भनेर देखाउनेसम्म मात्रै हो ।’ साभारः आर्थिक अभियान