१६ कार्तिक २०८२, शनिबार

७ प्रदेशका १४ कविको काव्यकला इटहरीमा गुञ्जिने

एपेक राष्ट्रिय काव्यमहोत्सव कार्तिक १५ गते इटहरीको सोल्टी वेस्टेन्डमा हुँदै।

  • न्युज मानसराेवर

 

इटहरी, कात्तिक १४ — नेपाली कविता र साहित्यको उन्नयनमा समर्पित एपेक नेपालले दोस्रो राष्ट्रिय काव्यमहोत्सव इटहरीमा आयोजना गर्न लागेको छ। कात्तिक १५ गते हुने महोत्सवमा सातै प्रदेशबाट चयन भएका १४ कविहरूले आफ्ना मौलिक रचना प्रस्तुत गर्नेछन्।

गत वर्ष काठमाडौंमा पहिलो संस्करण सम्पन्न गरेपछि एपेकले यसपटक देशभरका कविहरूलाई एउटै मञ्चमा ल्याउँदै सिर्जनशीलताको उत्सव मनाउन लागेको हो। आयोजकका अनुसार, महोत्सवले नेपाली कविताको विविधता, सामूहिकता र राष्ट्रिय पहिचानलाई एकसाथ उजागर गर्नेछ।

सहभागी कविहरू

महोत्सवमा सहभागी कविहरू यसप्रकार छन्ः
कोशी प्रदेश: धीरज राई (भोजपुर), अस्मिता विष्ट (सुनसरी)
मधेश प्रदेश: मनोज लोहार (रौतहट), सपना कर्ण (धनुषा)
बागमती प्रदेश: गणेश श्रमण (चितवन), एलिशा एकलास (रसुवा)
गण्डकी प्रदेश: रोशन तिमिल्सिना (कास्की), निकेश गिरी (तनहुँ)
लुम्बिनी प्रदेश: रसिक राज (बाँके), चन्द्र जीएम (रोल्पा)
कर्णाली प्रदेश: लक्ष्मण मानव (कालिकोट), कल्पना पलक (सल्यान)
सुदूरपश्चिम प्रदेश: खेम बतास (कैलाली), मोहित जोशी (बैतडी)

विविध पृष्ठभूमिका कविहरू

सहभागी कविहरू विभिन्न पेशागत र सांस्कृतिक पृष्ठभूमिबाट आएका छन्।
चितवनका शिक्षक गणेश श्रमण चार दशकदेखि साहित्यमा सक्रिय छन् भने कास्कीका इन्जिनियर रोशन तिमिल्सिना कवितामार्फत समाज र संवेदनाको कथा बोल्छन्। बाँकेका रसिक राज चित्रकार हुन्, रोल्पाका चन्द्र जीएम स्वास्थ्य पेशामा छन्।

सुनसरीकी अस्मिता विष्ट बाल्यकालदेखि लेखनमा सक्रिय छन् र आफ्नै कविता सङ्ग्रह प्रकाशनको तयारीमा छिन्। बैतडीका मोहित जोशी ‘द पोएट आइडल सिजन २’ का फाइनलिस्ट हुन्। रौतहटका मनोज लोहारको ‘अनुहारको भीड’ नामक संयुक्त कविताकृति प्रकाशित छ।
सल्यानकी कल्पना पलक सामाजिक विभेदविरुद्ध लेख्छिन् भने धनुषाकी सपना कर्ण नेपाली, मैथिली र हिन्दी तीनै भाषामा कविता सिर्जना गर्छिन्।

कविताको राष्ट्रिय संगम

एपेक नेपालका अनुसार, यस्ता राष्ट्रिय महोत्सवले कविहरूलाई आपसी चिनजान र अनुभव साटासाटको अवसर दिनेछन्। विविध भौगोलिक र सांस्कृतिक क्षेत्रका कविहरू एउटै मञ्चमा आउँदा नेपाली कविताको समृद्ध स्वरूप झल्किने आयोजकको विश्वास छ।

“यो महोत्सव नेपाली कविताको वर्तमान दिशा मात्र होइन, भविष्यको बाटो पनि देखाउने प्रयास हो,” आयोजक संस्थाले जनाएको छ।

  • १५ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • Nabintech