इटहरी — कविता र सिर्जनशीलताको उत्सवले शनिबार इटहरीको सोल्टी वेस्टेन्ड होटलको माहौल काव्यात्मक बन्यो। जहाँ एपेक नेपालको आयोजनामा दोस्रो ‘एपेक राष्ट्रिय काव्यमहोत्सव – २’ सम्पन्न भयो। महोत्सवमा सातै प्रदेशका १४ कविहरूले आफ्ना मौलिक रचना वाचन गरे।
गत वर्ष काठमाडौंमा पहिलो संस्करण सम्पन्न गरेपछि एपेकले यसपटक देशका विविध भौगोलिक र सांस्कृतिक पृष्ठभूमिका कविहरूलाई एउटै मञ्चमा ल्याउँदै नेपाली कविताको विविधता र सामूहिकतालाई उत्सवका रूपमा प्रस्तुत गरेको हो।
![]()
महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कवि मनु मन्जिलको कवितांश वाचन गर्दै गरे। उनले उद्घाटन सत्रमा भने, “कला र साहित्य समाजमा सकारात्मक चेतना फैलाउने शक्तिशाली माध्यम हुन्। यस्ता कार्यक्रमहरूले युवा पुस्तामा सिर्जनात्मक सोच र आत्मविश्वास जगाउँछन्,”।
कार्यक्रममा कवि र चित्रकारबीचको अनौठो सहकार्य पनि प्रस्तुत गरिएको थियो। कविहरूले कविता वाचन गरिरहेका बेला सातै प्रदेशका चित्रकारहरूले त्यही कविताको भावनालाई क्यानभासमा उतार्दै थिए। कोशी प्रदेशकी कवि अस्मिता विष्टले ‘गाउँमा खुलेको डिपार्टमेन्ट स्टोर’ वाचन गर्दा कलाकार डिल्लीकृष्ण आलेले त्यसको भावचित्र बनाएका थिए भने रौतहटका कवि मनोज लोहारको ‘घर सम्झिरहेको मानिस’ कवितालाई सञ्जय वान्तावाले रंग र रेखामार्फत जीवन्त रूप दिएका थिए।
यसरी शब्द र रंगको संयुक्त प्रस्तुति हेर्दा उपस्थित दर्शकहरू मन्त्रमुग्ध बने। मञ्चमा एउटै समयमा कविता सुन्ने र त्यसकै भावचित्र देख्ने अनुभव सबैका लागि नयाँ र हृदयस्पर्शी रह्यो।
सोही अवसरमा साहित्यकार हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ लाई ‘पहिलो पाण्डुलिपि पुरस्कार’ प्रदान गरिएको थियो। साथै ४० वर्षमुनिका युवा लेखकहरूका लागि दोस्रो लघुकथा पाण्डुलिपि प्रतियोगिता घोषणा गरिएको छ, जसको नतिजा आगामी चैत १५ गते सार्वजनिक गरिने आयोजकले जानकारी दियो।
![]()
कार्यक्रम एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कवि मनु मन्जिल, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, कवि, कलाकार तथा कला साहित्य प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो।














