काठमाडौँ\जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका दीपककुमार महरा आइतबार पर्साबाट पक्राउ परे ।कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय ठेकिएका महरा आफ्नो घरमा लुकेर बसेका थिए । पर्सास्थित वीरगञ्ज महानगरपालिका– ८ घर भएका महरा परिवारसँग बसिरहेका बेला जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । जगन्नाथदेवलबाटै भागेका अर्का कैदी विनोद सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबारै नियन्त्रणमा लिएको थियो ।
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद ठेकिएका सुनारलाई २०७७ असार १३ गते जगन्नाथदेवलमा राखिएको थियो । २० वर्ष कैद भुक्तान गर्न बाँकी रहेका उनी जेनजी आन्दोलनकै क्रममा भदौ २४ गते कारागारबाट भागेका थिए ।नुवाकोटस्थित लिखु गाउँपालिका– ६ घर भएका सुनारलाई ब्यूरोले काठमाडौंस्थित तारकेश्वर नगरपालिका– ५ अर्यालटारबाट नियन्त्रणमा लिएको हो ।
फरार उनीहरूको सुरक्षा निकायको समन्वयमा खोजी कार्य भइरहेको छ । विभागका अनुसार २८ वटा कारागारबाट कैदीबन्दी फरार भएका थिए । केन्द्रीय कारागार सुन्धारा र नख्खु कारागारबाट धेरै कैदीबन्दी भागेका थिए ।
विभागले फरार कैदीबन्दी खोजीका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ । प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई फरारको खोजीका लागि खटिन निर्देशन दिएको छ ।प्रत्येक जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओको संयोजकत्वमा एउटा कार्यदल बनाइएको छ । उक्त कार्यदलले फरार कैदीबन्दीको खोजी र लगत राख्ने काम गरिरहेको छ ।
विभागका महानिर्देशक एवं सहसचिव लीलाप्रसाद शर्माले फरार कैदीबन्दी अझै पनि स्व:स्फूर्त कारागारको सम्पर्कमा आएमा उनीहरूलाई हुने थप कारबाहीबारे सोचिने बताए ।उनले भने, ‘फरार भएकामध्ये अधिकांश जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका छन्, सुरक्षा निकायकै सहयोगमा खोजी कार्य भइरहेको छ ।’ महानिर्देशक शर्माका अनुसार विदेशी कैदीबन्दीमा धेरैजसो भारत, चीन र बंगलादेशका नागरिक छन् ।
फरार भारतीय कैदीबन्दीहरू लागूऔषध, कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका मुद्दाका धेरै छन् । चिनियाँ नागरिकहरू अनलाइन ठगीका धेरै छन् ।लागूऔषध मुद्दामा जेल परेकी जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुलालाई प्रहरीले पक्राउ गरेको छ । उनी पनि भदौ २४ मै जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेकी थिइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।गृह मन्त्रालयले जेलबाट भागेका कैदीबन्दीको विवरण अध्यागमन विभाग, सीमा प्रशासन कार्यालय लगायत कार्यालयहरूमा समेत पठाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत कडाइ गरेपछि हवाइमार्गबाट भाग्न खोज्ने कैदीबन्दीहरू काठमाडौंमै लुकेर बसेको आशंका प्रहरीले गरेको छ ।
सुन्धारास्थित जगन्नाथदेवल र नख्खुसहित कारागार कार्यालयहरू झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौबास्ता, रुकुम पश्चिम, नवलपरासी पश्चिम, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर गरी २८ वटा कारागारबाट कैदीबन्दी भागेका थिए ।















