बाँके\ प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
कात्तिक मसान्तसम्म मात्र गरिने नयाँ नाम दर्ताका लागि अहिले बाँके जिल्लामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । सोही कारणले हालसम्म जिल्लामा सात हजारभन्दा बढी मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराइसक्नु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार अहिले दैनिक ३०० देखि ४०० जनासम्म नयाँ मतदाता नामावली दर्ताका लागि कार्यालयमा आउने गरेका छन् ।
कात्तिक २५ गतेसम्म बाँकेमा सात हजार ८९ जना नयाँ मतदाता थपिएको जनाउँदै तीमध्ये पुरुष चार हजार ५५४ र महिला तीन हजार ५३४ जना रहेको बताए । उनका अनुसार अधिकांश मतदाता नवयुवा छन्।१८ देखि २५ वर्ष उमेर समूहका नयाँ मतदाता बढी थपिएका छन् ।















