१७ मंसिर २०८२, मंगलवार

नयाँ विचारको खोजी र शासकीय बेथिति
  • न्युज मानसराेवर

नेपाली समाजमा अहिले सोच, विचार र चिन्तनको अभाव  देख्न सकिन्छ । २०७२ सालको संविधान बनाउने ताकासम्म राज्यको पुनःसंरचना, शासकीय स्वरुप, अधिकारको बाँडफाँडलगायत अनेक विषयमा दिनहुँ दर्जनौं छलफल र बहस हुने गर्दथ्यो ।

संविधान निर्माण भएलगत्तै विचारको बहस सकियो र आर्थिक समृद्धितिर लाग्ने भाष्य स्वयं संविधान निर्माताहरुले फैलाउन थाले । त्यसपछि शासनसत्ता सम्हाल्ने राजनीतिक दल एवं शासकीय वृत्तमा चिन्तन, बहस र छलफल एकाएक गायब हुन थालेको हो ।त्यति बेलाका शासकहरुले फैलाएको आर्थिक समृद्धि, सुखी नेपाली र समृद्ध नेपालको नाराको जनताले दैनिक जीवनमा अनुभूति गर्न पाएनन् ।

विश्वकै उत्कृष्ट भनेर दाबी गरिएको संविधान पनि राम्ररी कार्यान्वयन भएन वा गर्ने भरमग्दुर प्रयास गरिएन । हुने, नहुने अनेक गठबन्धन गरेर सत्ताको म्युजिकल चेयरमा को बस्ने भनने व्यक्तिगत चिन्तनले मात्र प्राथमिकता पाउँदै गयो । राजनीतिक दल नेताविशेष एवं गुटविशेष फाइदाको सोच र संस्कारले ग्रस्त हुँदा दलभित्रको वृत्तमा आलोचनात्मक चेत, वैचारिक छलफल लगभग शून्य हुन पुग्यो ।दलहरुको महाधिवेशन पनि केवल कर्मकाण्डमै सीमित हुने गरेको हुँदा अहिले जताततै अवसरवादी, स्वार्थपरक कार्यले प्राथमिकता पाउँदै गएको देखिन्छ । यस पृष्ठभूमिमा भएको जेनजी विद्रोहले अहिलेसम्मका सबै भाष्य र सपनालाई हुत्याइदिएको छ ।

नेताहरुको सत्ताको अन्त्यहीन खेललाई सशक्त खबरदारी गरिदिएको छ ।संविधान जारी गर्दादेखिको नेताहरुमा प्रधानमन्त्री–मन्त्री बन्ने हठले विभिन्न समुदाय, क्षेत्रका असन्तुष्टिका आवाजहरुलाई दमन गर्ने क्रम शुरु हुन गएको थियो । दलभित्र फरक मत राख्ने, फरक विचार राख्नेले कि पार्टी छाड्नै पर्ने वा त्यहाँभित्र दोयम दर्जाको नागरिक भएर बाँच्नुपर्ने स्थिति भएको कहीँ–कतैबाट लुकेको छैन ।

दलका महाधिवेशनहरु नेताविशेष र गुटको इच्छालाई वैधानिक आवरण दिने घेरासम्म सीमित हुन गएका छन् । दलभित्र सानो स्वरमा यसको विरोध भए पनि अधिकांश कार्यकर्ता नेताको दाससरह हुन थाले ।मूल धारबाहिर हुने चिन्तन, बहस र छलफलले सत्ताधारीहरुलाई केही असर पारेन । तर आजको देशको अवस्थालाई विगतमा सत्ताधारीहरुको कुरासँग तुलना गर्ने हो भने न उनीहरुले स्वयं भनेजस्तो देशलाई समृद्धिको मार्गमा डोह¥याए, न उनीहरु स्वयंले जारी गरेको संविधानको रक्षा गर्न सके ? सबैभन्दा दुर्भाग्यपूर्ण भनेको अहिलेको देशको अवस्थाको जिम्मेवारीसमेत विगतमा पटक–पटक प्रधानमन्त्री भइसकेका व्यक्तिहरुले लिन चाहिरहेका छैनन् ।

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहमा त्यत्रो नरसंहार भयो तर त्यति बेलाका प्रधानमन्त्री, मन्त्रीहरुका अभिव्यक्तिहरु सुन्दा देशमा केही भएको छैनजस्तो लाग्छ ।उनीहरुमा अझै सत्ताको अहंकार छ भने मुखको तीतो पोखिरहेका छन् । यस्तो अवस्थामा जेनजी विद्रोहको मर्मअनुसार देशमा विद्यमान शासकीय बेथिति,सुशासनतर्फ मुलुकलाई अघि बढाउन  नागरिकहरुले खबरदारी गर्दै जानुपर्ने देखिएको छ ।

यस्तै खबरदारी गरी देशमा विद्यमान यावत् समस्यालाई समाधान गर्दै अघि बढ्नका लागि अहिले युवापुस्तालाई जोश–जाँगर भर्ने विचारको खाँचो छ । ताकि ती विचारले नयाँ पुस्ता भविष्यप्रति आशावादी हुँदै त्यतातिर जान संकल्प गर्न सकून् । त्यसका लागि अहिले देखिएका यावत् समस्याको विषयमा सम्यक चिन्तन, वैचारिक बहस चलाउनुपर्ने आवश्यकता छ ।

  • १३ मंसिर २०८२, शुक्रबार प्रकाशित

  • Nabintech