बाँके\सर्वसम्मत निर्वाचन सकिएको भनिएको लुम्बिनी प्रदेशका दाङ र बाँकेमा प्रतिनिधि छनोट विवादित बनेको हो । दुवै जिल्लाको विवाद उस्तै प्रकृतिको छ।विधि र प्रक्रियाविपरीत एकलौटी ढंगले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टी केन्द्रीय संगठन विभागमा उजुरी हालेका छन् ।
केन्द्रीय संगठन विभागले जारी गरेको सर्कुलरविपरीत मतदाता नामावली र निर्वाचन कार्यतालिका नै प्रकाशित नगरी साढे १० हजार प्रतिनिधिको हक अधिकार कुण्ठित गरी हचुवाका भरमा प्रतिनिधि छानिएको भुसालले आरोप लगाए ।
यसअघि विभिन्न चरणमा आकांक्षीहरूसँग छलफल र परामर्श गरेर सूची टुंग्याइएको दाङ जिल्ला सचिव सूर्यबहादुर डाँगीले जानकारी दिए । यस्तै, बाँके क्षेत्र नम्बर २ र ३ मा पनि प्रतिनिधि छनोटमा होटलको कोठामा बसेर निर्वाचनको प्रक्रिया नै नगरी छनोट गरेको भन्दै कार्यकर्ताहरूले विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा आक्रोश पोख्नेदेखि उजुरीसम्म दिने काम बाँकेमा भएको छ । प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले दुई जिल्लाबाट उस्तै उस्तै प्रकृतिको निवेदन आएकोले केन्द्रीय संगठन विभागले छिट्टै उचित निकास निकाल्ने छ उनले न्यूजमानसरोबर लाई भने ।
एमालेको केन्द्रीय कमिटीमै लुम्बिनी प्रदेशबाट ठुला नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, गोकर्ण विष्ट र प्रदीप ज्ञवाली रहेका छन् । अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबिच आगामी अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएपछि यहाँ पनि प्रतिनिधि छनोटमा कार्यकर्ताहरू विभाजित बन्दै आएका छन् ।















