काठमाडौँ\नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लगातार चौथो हार बेहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिएको छ । मंगलबार भएको खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएपछि कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो । कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। ६ खेलमा १ मा मात्र जित निकालेको कर्णालीले अब अन्तिम खेल जिते पनि ४ अंक मात्र हुनेछ । अब उसका लागि अन्तिम खेल सान्त्वना मात्र हुनेछ । लिग चरणको अन्तिम खेलमा कर्णालीले जनकपुर बोल्ट्सविरुद्ध खेल्नेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रनमात्र बनाउन सक्यो ।कर्णालीका लागि ओपनर मार्क वाटले ५९ रनको सर्वाधिक योगदान दिए ।
नजिबुल्लाह जड्रानले २४, पवन सर्राफले १९ र प्रियांक पञ्चलले १६ रन जोडे । पोखराका ऋषी धवन र धनन्जय लक्षणले तीन–तीन विकेट लिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले समान एक/एक विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले दुई विकेटको क्षतिमा १०१ रन बनाएको थियो । एडम रोसिङटन १०८ रनमा अविजित रहे । रोसिङटनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे । धनन्जय लक्षण २३ रनमा नटआउट रहे ।
कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एक/एक विकेट लिए । लिग चरणको पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई नौ विकेटले हराएको थियो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित कर्णालीले चौथो खेलमा विराटनगर किंग्ससँग तीन विकेटको हार चाखेको थियो । लिग चरणको पाचौं खेलमा काठमाण्डू गोर्खाजसँग कर्णाली पाँच विकेटले पराजित भएको थियो ।










