काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेपछि नेतृत्वको औचित्यतामाथि पार्टीभित्रैबाट प्रश्न खेपिरहेका केपी शर्मा ओली ११ औं महाधिवेशनबाट अध्यक्षमा पुनर्अनुमोदित भएर फर्केका छन् ।
२०७१ सालबाट एमालेको नेतृत्वमा प्रवेश गरेका ओली महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित भए । राजनीतिक यात्राका आफ्नै समकालीन नेता ईश्वर पोखरेल भन्दा करिब तेब्बर बढी मतसहित ल्याए । कुल २२२७ मत मध्ये १६६३ मत ओलीले प्राप्त गर्दा पोखरेलले जम्मा ५६४ मत मात्र ल्याए ।
एमालेका बहुमत महाधिवेशन प्रतिनिधिहरूले ओलीलाई लोकतान्त्रिक तरिकाबाट चयन गरी नेतृत्वमा वैधानिक रुपमा अनुमोदन गरेका छन् । यसले उनको पार्टी सत्ताभित्रको पकडलाई पुनर्पुष्टि गरेको छ ।महाधिवेशनको परिणामले ओलीलाई पार्टी सत्तामा अब पाँच वर्ष बस्ने वैधानिकता दिएको छ । जेनजी आन्दोलनपछि उनको नेतृत्वमा प्रश्न उठेकैले निर्धारित समयभन्दा एक वर्षअघि नै एमालेले ११ औं महाधिवेशनबाट नेतृत्व चयन गर्ने निर्णय गरेको थियो ।










