बाँके\आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ धमाधम उम्मेदवार सिफारिस गरेको छ । लुम्बिनी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने प्रभावशाली नेता तथा केन्द्रीय पदाधिकारी एकल र कोही नेता दुई स्थानबाट पनि सिफारिस भएका छन् ।
लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र छन् । रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल एकल सिफारिस भएका छन् । रूपन्देही पौडेलको गृहजिल्ला हो । पौडेल यही क्षेत्रबाट २०७९, २०७४, २०७० र २०६४ मा लगातार निर्वाचित हुँदै आएका छन् । प्रतिनिधिसभातर्फ उम्मेदवारका लागि उपाध्यक्ष पौडेल नाम एकल सिफारिस भएको जिल्ला अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।
रूपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभातर्फ नेकपा एमालेले युवा नेता खिमलाल भट्टराईको एकल नाम सिफारिस गरेको छ । एमालेका केन्द्रीय सदस्य भट्टराई रूपन्देही ५ बाट प्रतिनिधिसभा निर्वाचनको उमेदवारका लागि निर्वाचन क्षेत्रीय कमिटीको विस्तारित बैठकबाट एकल रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । यो क्षेत्रबाट यसअघि एमालेकै वासुदेव घिमिरे निर्वाचित भएका थिए ।
रूपन्देही १ मा एमाले सचिव छविलाल विश्वकर्मासहित तीन जनाको नाम सिफारिस भएको छ । विश्वकर्मासहित दधीराम न्यौपाने डा. कृष्ण न्यौपानेको नाम सिफारिस भएको छ । विश्वकर्मा यही क्षेत्रबाट २०७४ र २०७९ मा निर्वाचित भएका थिए भने दधीराम र कृष्ण पूर्वप्रदेशसभा सदस्य हुन् ।
विष्णु पौडेलको नाम रूपन्देही ३ बाट पनि सिफारिस भएको छ । रूपन्देही ३ बाट पौडेलसँगै हरि अधिकारी, वासुदेव घिमिरे, अयोध्या थारू, हितराज पन्थी, नरबहादुर घर्ती, विश्वराज बराल, राजेन्द्र पन्थी, पम्फावति खनाल, सिता काफ्ले ढुङाना र लक्ष्मी केसीको नाम सिफारिस भएको जिल्ला कमिटी सदस्य बालकृष्ण पाण्डेले जानकारी दिए ।
रूपन्देही २ सँगै पौडेल पाल्पा २ बाट पनि सिफारिस भएका छन् । पौडेलसँगै युवा नेता तथा पूर्वपोलिटब्युरो ठाकुर गैरे, केन्द्रीय निर्वाचन आयोग सदस्य नारायणी घिमिरे र डा. रामबहादुर राउत सिफारिस भएका जिल्ला अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए । पौडेलको नाम ३ ठाउँबाट सिफारिस भएको छ ।विक्रम संवत् २०७९ मा पाल्पा २ मा ठाकुर गैरे निर्वाचित भएका थिए ।
पाल्पा १ बाट ६ जनाको नाम सिफारिस भएको छ । यसअघि निर्वाचित नारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसहित ६ जना सिफारिस अध्यक्ष घर्तीले बताए । उनका अनुसार आचार्य र कँडेलसँगै मीनबहादुर सारू, दुर्गादेवी राना, विमल काफ्ले र शिव अर्याल सिफारिस भएका छन् ।गुल्मी १ बाट केन्द्रीय सदस्य प्रदीप ज्ञवालीको नाम एकल सिफारिस भएको छ । ज्ञवाली यसअघि यही क्षेत्रबाट कांग्रेस नेता चन्द्र भण्डारीसँग पराजित भएका थिए।एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाले प्रदीप ज्ञवालीको नाम एकल रूपमा सिफारिस भएर गएको बताए ।
गुल्मी २ बाट पार्टीका उपाध्यक्ष गोकर्ण विष्ट, रामकुमारी झाँक्री र राजेन्द्र अर्याललगायतको नाम सिफारिस भएको छ ।यस्तै, दाङ २ बाट महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस भएको छ । क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए । २०७९ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका थिए ।
त्यस्तै बाँके १ बाट केन्द्रीय सदस्य सूर्यप्रसाद ढकाल एकल सिफारिस भएका छन् । ढकाल यसअघि यही क्षेत्रबाट निर्वाचित भएका थिए यस्तै, बाँके ३ मा दलबहादुर सुनारको नाम एकल सिफारिस भएको छ । बाँके २ मा निरक गुरुङसहित कृष्ण श्रेष्ठ र अक्षरी पोखरेल सिफारिस भएका छन् ।कपिलवस्तु १ बाट विश्राम चौधरीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस गरेको छ ।
यसअघि निर्वाचन जितेका पूर्वमन्त्री समेत रहेका बलाराम अधिकारीले आफू २ पटक जितेको क्षेत्रमा आरूलाई अवसर दिने भन्दै उम्मेदवारी नदिने बताएपछि चौधरी सर्ब सहमत सिफारिस भएका हुन ।विश्राम चौधरी यसअघि संविधान सभाको सदस्य भएर चिनिएका नेता हुन् । एमाले रूकुमपूर्वले नेताहरू खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनारको नाम सिफरिस गरेको छ । अर्घाखाँचीले आउदो २२ गते बल्ल उम्मेदवार सिफारिस गर्ने भएको छ ।
एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले एउटा निर्वाचन क्षेत्र भएको जिल्ला बाहेक अन्य सबैको आइतबार साँझसम्म सिफारिस हुने बताए । अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुमपूर्व लुम्बिनीका एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन् । प्यूठानले पनि टुंगो लगाउने सकेको छैन । बर्दिया, कपिलवस्तुको २ वटा क्षेत्र, दाङका २ वटा क्षेत्र गुल्मीको एउटा क्षेत्र पश्चिम नवलपरासीको पनि टुंगो लगाउने प्रक्रियामा छन ।










