कोहलपुर\कोहलपुरमा जारी कोहलपुर महोत्सवमा गायक दुर्गेश थापाको जबरजस्त क्रेज देखिएको छ । महोत्सवको १४औँ दिन आफ्नो प्रस्तुति लिएर कोहलपुर आएका थापालाई हेर्न हजारौँ दर्शक, विशेषगरी युवा-युवतीहरूको उल्लेख्य भीड महोत्सव परिसरमा देखिएको थियो ।
फिल्मी शैलीमा मञ्च प्रवेश गरेका दुर्गेशलाई नजिकबाट हेर्न दर्शकहरू उत्साहित देखिन्थे । टिमसहित मञ्च उक्लिएका थापाले छोटो समयको प्रस्तुति दिए पनि दर्शकलाई निराश बनाएनन् । उनका गीत र प्रस्तुतीले महोत्सवको माहोल थप रोमाञ्चक बनेको थियो ।
उक्त दिन महोत्सवमा गायिका सम्झना रनपाल, रिता केसी, तृप्ती खड्का तथा गायक भुवन भट्टराई, विश्वजित मल्ल ठकुरी र डान्सर पूजा बुढाको समेत प्रस्तुति रहेको थियो । चिसो मौसमका बाबजुद महोत्सव परिसर दर्शकले खचाखच भरिएको थियो ।
पुस ९ गतेदेखि कोहलपुर न्यूरोडस्थित खुला मैदानमा सञ्चालन भइरहेको महोत्सव पुस २४ गते समापन हुने कार्यक्रम तय गरिएको छ । यद्यपि, पुस २३ गतेसम्म मात्र सांगीतिक प्रस्तुति रहने र २४ गतेको समापन समारोह खुला रूपमा सञ्चालन हुने मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले जानकारी दिए ।
बुधबार आउने कलाकारहरू
महोत्सवको १५औँ दिन बुधबार चर्चित गायिका सिर्जना खत्री (हाउडे माया), गायक एस कुमार, श्रीकृष्ण बम मगर, शिव सङ्गीतलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ । साथै स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने कला, संस्कृति तथा अतिथि सत्कार उप-समितिका संयोजक चण्डी प्रसाद गैरेले जानकारी दिए ।











