बाँके\नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शैक्षिक गुणस्तर अभिबृद्धिमा निजी विद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेको ३५औं ‘प्याब्सन डे’ को अवसरमा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धिमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको भन्दै रोजगारीको पनि स्रोत बनेको बताए ।

उनले निजी विद्यालय र सामुदायिक विद्यालयको गुणस्तर कायम राख्न राज्यले भूमिका खेल्नुपर्ने समेत बताए । उनले तत्काल शिक्षा ऐन ल्याउन समेत संघीय सरकारसँग माग गरे । शिक्षा ऐन ल्याउँदा निजी विद्यालयसँगको सहमति विना ल्याउन नहुने उनको भनाई छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले निजी विद्यालयहरुले नेपालको शैक्षिक गुणस्तर कायम राख्न र रोजगारी सिर्जना गर्ने सवालमा उल्लेखनीय योगदान दिएको बताए । शिक्षा विकास तथा समन्वय इकाई बाँके प्रमुख धनसुदन चौलागाईंले शिक्षा क्षेत्रमा गुणस्तर ल्याउनु अहिलेको आवश्यकता भएको र यसका लागि निजी विद्यालयहरूको लगानीले उपलब्धि हासिल गरेको बताए ।
उनले अबका दिनमा व्यवहारिक तथा विद्यार्थीहरूको रुची अनुसारको शिक्षा हुन आवश्यक रहेकोमा जोड दिए ।नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निजी विद्यालयले शिक्षा क्षेत्रको इज्जत धानेको उल्लेख गर्दै आफूमाथि गरिएका प्रश्नहरुका बारेमा भने गम्भीर बन्नुपर्ने बताए । निजी विद्यालयले लिने शुल्क र शिक्षकहरुको पारिश्रमिकका विषयमा नकारात्मक भाष्य निर्माण भएको प्रसंग निकाल्दै उनले यसको जबाफ दिन सक्नुपर्ने बताए ।
प्याब्सन बाँकेका अध्यक्ष विकास वज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. राजेश केशर खनाल, शिक्षा विकास तथा समन्वय इकाई बाँके प्रमुख धनसुदन चौलागाईं, प्याब्सन लुम्बिनी सल्लाहकार ऋषिकेश जिसी, नेपालगञ्ज उच्च अदालत बार एशोसिएसन अध्यक्ष पवन कुमार गुप्ता, नेपाल शिक्षक महासंघ नेपालगञ्ज उपमहानगरपालिका अध्यक्ष सुमोद रिजाल, नेपालगञ्ज अध्यक्ष मान बहादुर थापा, कोहलपुर अध्यक्ष रमेश केसी, खजुरा अध्यक्ष गिता गोदार लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
पत्रकार ढकाल र रोकाया नगद सहित सम्मानित
प्याब्सन बाँकेको ३५औं ‘प्याब्सन डे’ मा पत्रकार प्रियास्मृति ढकाल सम्मानित भएका छन् ।
सञ्चारकर्ममार्फत निजी तथा आवासीय विद्यालयहरुको उन्नयनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पत्रकारिता विधातर्फ १० हजार नगदसहित ढकाल प्याब्सन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।
त्यसै गरी स्व.हरिप्रसाद रावत प्याब्सन पत्रकारिता पुरस्कारबाट कोहलपुर निवासी पत्रकार रवि रोकाय पुरस्कृत भएका छन्।
प्याब्सनका निवर्तमान अध्यक्ष यम रावतले आफ्ना बुवाको सम्झानामा स्थापना गरेको पुरस्कार कोहलपुर प्याब्सन समितिले प्याब्सन डेमा वितरण गर्ने गरेको छ। कोहलपुर अध्यक्ष रमेश केसी लगायतले पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।










