३ माघ २०८२, शुक्रबार

नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिकाले आफ्नो हिउँदे अधिवेशन अन्त्य गरेको छ । शुक्रबार उन्नाइसौँ नगरसभा सम्पन्न भएसँगै नगरप्रमुख पूर्णप्रसाद आचार्यले चालु आर्थिक वर्षको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका छन।

नगरसभामा प्रस्तुत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ पारित भएको छ । यस्तै नगरसभाबाट घरनक्सा पास अभिलेखीकरण असार मसान्तसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि आर्थिक वर्ष २०८२ साउनदेखि घरनक्सा पास अभिलेखीकरण बन्द भएको थियो । यस्तै नगरसभाले कोहलपुर नगरापालिकाको कर्मचारी सङ्गठन संरचना संशोधनसहित पारित गरेको छ ।

हालसम्म विनियोजित बजेटमध्ये २८ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजित कुल बजेट १ अर्ब १७ करोड ४५ लाख ५ हजारमध्ये ३३ करोड ५० लाख एक हजार ८४ रुपियाँ १४ पैसा खर्च भइ कुल बजेटको २८.४९ प्रतिशत बजेट खर्च भएको हो । जसमा चालुतर्फ ३५.११ प्रतिशत र पुँजीगततर्फ १७.६१ प्रतिशत खर्च भएको छ भने विषयगततर्फ विनियोजित बजेटमा आर्थिक विकासतर्फ १४.२ प्रतिशत, सामाजिक विकासमा ३२.५१ प्रतिशत, पूर्वाधार विकासतर्फ ६.८९ प्रतिशत, सुशासन क्षेत्रमा १५.०१ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४७.५८ प्रतिशत खर्च भएको नगर उपप्रमुख सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

यस्तै चालु आर्थिक वर्षमा राजस्वतर्फ प्रक्षेपण गरिएको रकम १३ करोड ३८ लाख २१ हजार १ सय ९३ रुपियाँ रहेकोमा हालसम्म ४ करोड ४९ लाख ८२ हजार ५ सय ६२ रुपियाँ ९६ पैसा सङ्कलन भएको छ । जसअनुसार हालसम्म ३३.६१ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

  • २५ पुष २०८२, शुक्रबार प्रकाशित

  • Nabintech