बाँके\लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा दुई विधेयक पेस भएको छ । मंगलबार बसेको बैठकमा दलित समुदायको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि पेस भएको हो ।
उक्त विधेयक सरकारका तर्फबाट प्रदेश सभामा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पेस गरे का छन् । त्यस्तै स्वास्थ्य मन्त्री खेमबहादुर सारूले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका छन् । त्यस्तै प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको कार्यालयबाट पुनर्विचारका लागि फिर्ता आएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि पुनः पेस भएको छ ।
सरकारका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उक्त विधेयक पेस गर्नुभयो । सभामुख तुलाराम घर्ती मगरले विधेयकमाथि सैद्धान्तिक प्रस्तावका लागि निर्माणार्थ प्रस्तुत गरे । विधेयक माथिको सैद्धान्तिक छलफलको प्रस्ताव पारित भएपछि प्रदेश सभा सदस्य तुलसीराम शर्माले विधेयक माथि सुझाव दिए ।
बैठकमा सभामुख घर्तीले दाङ ३ (२ )बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित नेकपाका धनबहादुर मास्की, बाँके १(१) बाट निर्वाचित कृष्णा केसी, बर्दिया २ (२) बाट निर्वाचित नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र रुपन्देही ४ (१) बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बानियाले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको र उक्त चार पद रिक्त रहेको जानकारी गराएका छन् ।
चारै जना प्रदेशसभा छोडेर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । चार पद रिक्त भएपछि ८७ सदस्यीय प्रदेशसभा अहिले ८३ सदस्यीय बनेको छ ।
बैठकको विशेष समयमा जनमत पार्टीका चन्द्रकेश गुप्ता, राप्रपाकी मिनाकुमारी श्रेष्ठ, कांग्रेसकी लोकीकुमारी विक र नेकपा एमालेका विष्णुप्रसाद पन्थीले बोलेका सम्बोधन गर्दे सरकारले बजेट तयार गर्दा मापदण्ड बनाएको तर, त्यो मापदण्ड अनुसार बजेट नबनेको गुनासो गरेका थिए ।उनीहरुले बजेटमा डिभिजन कार्यालयहरूले मनोमानी निर्णय गरिरहेको गुनासो समेत गरेका थिए । प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठक बुधबार बस्नेछ ।









