१९ माघ २०८२, आईतवार

समता साहित्य उत्सवको पाँचौं संस्करण इलाममा सम्पन्न

'समता स्कुल पूर्वी कन्सोर्टियमले साहित्यप्रति देखाएको अपनत्वको सबैले गरे खुलेर प्रशंसा'

  • न्युज मानसराेवर

इलाम । शब्द, सिर्जना र प्रेरणाको उत्सवका रूपमा परिचित समता साहित्य उत्सवको पाँचौं संस्करण इलामस्थित समता स्कुलमा आज माघ १५ गते भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य र सिर्जनात्मक चेतनाको विकास गर्ने उद्देश्यसहित समता स्कुल पूर्वी कन्सोर्टियमद्वारा आयोजित उक्त उत्सव साहित्यिक विचार, सिर्जना र सांस्कृतिक प्रस्तुतिले भरिपूर्ण रह्यो।

कार्यक्रमका प्रमुख अतिथि भारतको दार्जिलिङका प्रख्यात कवि महेन्द्र स्याङ्बो तथा विशिष्ट अतिथि प्राध्यापक युद्धप्रसाद वैद्य रहेका थिए। कार्यक्रम संयोजक कवि विमल वैद्यले कार्यक्रमको अध्यक्षता गरेका थिए।

कार्यक्रममा साहित्य र विद्यालयबीचको अन्तरसम्बन्ध विषयमा डा. देवी क्षेत्री दुलालले विचारोत्तेजक सम्भाषण प्रस्तुत गरे भने पर्यालेखनका विषयमा साहित्यकार तथा अनुवादक समदर्शी काइँलाले गहन धारणा राखेका थिए।

साहित्य उत्सवमा कवि प्रकाश थाम्सोहाङ, अन्वेश थुलुङ, निवाता चावा, दीपेन्द्र आचार्य, गजेन्द्र राईलगायत २५ जना कवि तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबै स्रष्टाहरूले आ–आफ्ना उत्कृष्ट साहित्यिक सिर्जना वाचन गर्दै समता स्कुल पूर्वी कन्सोर्टियमले साहित्यप्रति देखाएको अपनत्वको खुलेर प्रशंसा गरे र यस्ता कार्यक्रमहरू अझै निरन्तर र सफल रूपमा अघि बढून् भन्ने कामना व्यक्त गरे।

कार्यक्रमलाई थप आकर्षक बनाउन भूपेन्द्र राईले सेक्सोफोनमार्फत पुराना सदाबहार धुनहरू प्रस्तुत गरेका थिए भने गायक राजेश चाम्लिङ राईले गीत प्रस्तुत गरी अतिथि तथा विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

यस अवसरमा पूर्वी कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठले समता साहित्य उत्सव आयोजना गर्नुको औचित्य र उद्देश्यबारे प्रकाश पार्दै विद्यार्थी तहबाटै साहित्यिक चेतना विकास गर्नु यस्ता कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए। त्यस्तै कार्यक्रमका संयोजक कवि बिमल बैद्यले समता साहित्य उत्सवले विद्यार्थीमा साहित्यिक चेतना विकास गर्न मद्धत गरेको उल्लेख गर्दै कार्यक्रममा सहभागी भएकोमा सम्पूर्ण अतिथिगण प्रति कृतज्ञता व्यक्त गर्नुभयो।

कार्यक्रमकै क्रममा आयोजित ‘अन्तर समता कविता वाचन प्रतियोगिता’मा इलामकी सोफिया थेबे प्रथम, लहानकी लक्ष्मी साह द्वितीय तथा इटहरीकी कञ्चना पौडेल तृतीय हुन सफल भएका थिए।

त्यसैगरी माघ १४ गते सम्पन्न अन्तर समता खेलकुद समारोहका विजेता टोली तथा खेलाडीहरूलाई समेत पुरस्कृत गरिएको थियो। खेलकुदतर्फ समता इटहरीले छात्र भलिबल, छात्र फुटसल, छात्र तथा छात्रा दुवैतर्फको टेबल टेनिस र छात्रा ब्याडमिन्टनको उपाधि जित्न सफल भयो। समता इलामले भने छात्र ब्याडमिन्टन र छात्रा भलिबलको उपाधि हात पारेको छ। समग्र खेलकुद समारोहको ‘Iconic Player of the Event’ को उपाधि समता इटहरीका आर्या बिष्टले प्राप्त गरे।

कार्यक्रमको समापन गर्दै आयोजकले समता साहित्य उत्सवको छैठौं अध्याय आगामी वर्ष झापाको दमकस्थित समता स्कुलमा आयोजना गरिने जानकारी दिएका छन्।

  • १६ माघ २०८२, बिहीबार प्रकाशित

  • Nabintech