१९ माघ २०८२, आईतवार

नरैनापुरमा धार्मिक मेला सुरु
  • न्युज मानसराेवर

बाँके\हिन्दु मुस्लिम एकता र नेपाल भारतका नागरिकबिच सम्बन्ध प्रगाढ गर्ने प्रतिकको रूपमा बाँकेको नरैनापुरमा १५१ वर्षदेखि हरेक वर्ष लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सुरु भएको छ ।

प्रसिद्ध मुस्लिम सुफिसन्त हजरत खलीफा नूर अहमद शाहको मजारमा प्रत्येक वर्ष आयोजना गरिने धार्मिक मेला शनिबार रातिबाट सुरु भएको हो । सो मेलामा नेपालसहित छिमेकी मुलुक भारतका हजारौं हिन्दु मुस्लिम धार्मिक श्रद्धालुहरूको सहभागिता रहेको छ ।

नेपालगन्जदेखि करिब ४७ किलोमिटर पुर्वमा अवस्थित नरैनापुर गाँउपालिका–२ स्थित खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उक्त मेलाको उदघाटन नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले गर्नुभयो । मेला एकसाता सम्म सञ्चालन हुने जनाइएको
छ । सो अवसरमा बोल्दै अध्यक्ष शाहले खलीफा नूर अहमद शाहको मजारलाई प्रमुख धार्मिक सदभाव पर्यटनस्थलको रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो ।

नरैनापुरका हिन्दु मुस्लिम मात्र नभई देशका विभिन्न भागका हिन्दु मुस्लिमसँगै सीमापारी भारतका पनि सयौं हिन्दु मुस्लिमको सहभागिता रहने सो मेलालाई धार्मिक एकताको मेलाको रूपमा पनि मनाइने गरिएको उहाँको भनाइ थियो । प्रसिद्ध सुफीसन्तकोे समाधीमा मेलाको बेला आउने हिन्दु मुस्लिम जो कोहीको पनि मनोकामना पूरा हुँदै आएकोले मेलामा आउनेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।

 

  • १९ माघ २०८२, आईतवार प्रकाशित

  • Nabintech