बाँके\चालु आर्थिक वर्षको ८ महिनामा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स ३७.७ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको फागुन महिनासम्म रेमिट्यान्स ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।फागुन महिनामा मात्रै रेमिट्यान्स १ खर्ब ८८ अर्ब ६४ करोड भित्रिएको छ ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ ।राष्ट्र बैंकका अनुसार फागुन महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ ।










