२६ जेष्ठ २०८२, आईतवार

गाउँमा काम नपाएपछि फेरि भारततिरै
  • न्युज मानसराेवर

बाँके।कोरोना संक्रमणको जोखिम कायमै रहे पनि रोजगारीका लागि भारत फर्किनेको ओइरो लाग्न थालेको छ । सुर्खेतका ४० वर्षीय मोहन थापा गत चैत २६ मा भारतमा लकडाउन भएपछि घर फर्किएका थिए । यहाँ आएपछि संक्रमण बढ्यो । निषेधाज्ञाका कारण काममा जान सकेनन् । बेरोजगार बसेका बेला ऋण गर्दै घरखर्च चलाए । अहिले जोखिम मोलेर पुनः उनी रोजगारका लागि भारत जाँदै छन् ।

नेपालगन्जस्थित जमुनाह नाका हुँदै भारत जान लागेका उनको मुहार निरास अनि थकानले भरिएको थियो । आफूसँगै पाँच जना साथी लिएर जमुनाह पुगेका उनले आफू रहरले नभई बाध्यताले भारत जान लागेको बताए । ‘गाउँमा बसियो, काम पाइएन । घरमा बस्दा उल्टै ऋण लाग्यो,’ उनले भने, ‘ऋण मात्र निकालेर कति दिनसम्म खाने ? त्यसैले रोजगारका लागि फेरि भारत फर्किंदै छु ।’

बाँकेका ३२ वर्षीय रमेश धमलाले माहामारीमा भारत जान मन नभएर पनि जानुपरेको बाध्यता सुनाए । ‘कोरोना महामारीका बेला घरमै बस्न मन थियो,’ यतिका दिन घरमा बस्दा कसैले सहयोग गरेनन् । मागेर खान भएन,’ उनले भने, ‘रोगभन्दा भोकको डरले घर छाडेर जान लागेको हुँ ।’ घरखर्च जुटाउनुपर्ने बाध्यता अनि गाउँमै रोजगारी नहुँदा जमुनाह नाकाबाट दैनिक सयौं नागरिक रोजगारीका लागि भारत जाने गर्छन् । यो क्रम केही दिनयता बक्लिएको छ ।

यो नाका हुँदै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण कामका लागि भारत जान्छन् । कोरोना महामारीको सुरुवातसँगै स्वदेश फर्केकाहरूले स्थानीय तहमै पर्याप्त रोजगारीको व्यवस्था नहुँदा गुजाराका लागि फेरि भारततिरै जान थालेको बताउने गरेका छन् । अहिले यो नाकामा भारतबाट फर्किनेभन्दा बाहिरेनेको संख्या बढ्दै गएको छ । यस्तो भीडमा महिला र बालबालिका पनि सामेल छन् । स्वदेशमा काम नपाइएपछि महामारीकै बीच भारत जान थालेको दैलेखका जसवीर बुढाले बताए । ‘उता लकडाउन भएपछि काम ठप्प भयो । महामारी पनि बढ्दै थियो,’ उनले भने, ‘स्वदेशमै केही गर्ने भनेर फर्किएँ तर यहाँ काम पाइएन । फेरि उतै जान बाध्य भयौं ।’

भारततर्फ जाने अधिकांश लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक हुन् । अहिले जमुनाह नाका हुँदै भारततर्फ दैनिक ५ सयदेखि ६ सयको हाराहारीमा गइरहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले बताए । उनका अनुसार पहिले दिल्ली, चण्डीगढ, गुजरात, मुम्बईजस्ता सहरमा काम गरेर फर्केका मजदुर नै पुनः तिनै सहरतिर गइरहेका छन् ।

सरकारले नेपाल–भारत सीमा खुलाउन कुनै आधिकारिक निर्णय गरेको छैन । तर किनमेलका लागि भारतीय बजार रुपैडिहा जाने नेपालीको जमुनाह नाकामा बाक्लै चहलपहल देखिन्छ । सीमा नाका बन्द भए पनि प्रहरी पोस्टबाट एक–एक गर्दै सर्वसाधरण रुपैडिहा प्रवेश गरिरहेका देखिन्छन् । रोजगारीका लागि भारत गएर घर फर्किएकाहरू र किनमेलका लागि भारत गएकाहरूमा शंका लागे मात्रै पीसीआर परीक्षण गरिन्छ । दुई देशबीचमा पूर्ववत् तरिकाले सवारीसाधन भने चलेका छैनन् । नेपालतिरका सवारी साधन नाकासम्मै पुग्छन् भने उताका सीमाभन्दा करिब ५० मिटर टाढै रोकिन्छन् । व्यावहारिक रूपले नाका केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता दीर्घराज उपाध्यायले बताए ।

‘सीमा खुलाउने भन्ने केही आधिकारिक पत्र आएको छैन,’ उनले भने, ‘व्यावहारिक रूपमा किनमेलका लागि नाका खुकुलो बनाएका छौं ।’ भारतीय नागरिक, नेपाली कामदार र कर्मचारीहरूलाई भने स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेशका लागि अनुमति दिइएको छ । रुपैडिहामा कोरोना संक्रमणको जोखिम कम भएकाले पनि नाकामा केही खुकुलो पारिएको उनको भनाइ छ । इकान्तिपुर बाट

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech