७ बैशाख २०८२, आईतवार

दसैंलाई च्यांग्रा किलोकै १५ सय
  • न्युज मानसराेवर

काठमाडौँ । यसपालि च्यांग्राको मासुको मूल्य अचाक्ली बढ्ने देखिएको छ । चीनबाट च्यांग्रा आयात नभएको र बिचौलियाका कारण दसैंमा च्यांग्राको मूल्य अति महँगो हुने देखिएको हो । विगतमा व्यवसायीले दसैंका लागि तिब्बतलगायत स्थानबाट च्यांग्रा आयात गर्थे । तर कोभिडका कारण यतिबेला चिनियाँ नाकामा सहज आवागमन छैन । जसले गर्दा मूल्य बढेको चौपाया व्यवसायी संघ कलंकीले जनाएको छ ।

‘चीनबाट आयात नहुँदा एउटै च्यांग्राको मूल्य ३८ देखि ४० हजार रुपैयाँ परेको छ,’ संघका निवर्तमान अध्यक्ष दीपक थापाले भने, ‘गत वर्ष दसैंमा किलोको ७ सय रुपैयाँमा बिक्री भएको च्यांग्रा अहिले १२ देखि १५ सय रुपैयाँ पर्ने देखिन्छ ।’ संघका अनुसार मूल्य अचाक्ली बढ्नुको पहिलो कारण बिचौलिया नै हो ।

किसान र उपभोक्तासम्म आइपुग्दा तीन तह पार गर्नुपर्छ । जसले गर्दा मूल्य बढाउन सघाएको छ ।
‘चीनबाट आयात हुँदा केही सस्तो हुन्थ्यो । तर यस वर्ष सबै मुस्ताङकै च्यांग्रा आउने हुन्,’ थापाले भने, ‘मूल्य बढेपछि खरिद संख्या पनि घटाएका छौं ।’ गत वर्ष ७ हजार च्यांग्रा उपत्यका भित्रिएकामा अहिले ४ देखि ४ हजार ५ सय मात्रै ल्याउन सकिने संघले जनाएको छ । सरकारले पनि यसपालि उपत्यकामा च्यांग्रा आयात नगर्ने बताएको छ । मूल्य थेगिनसक्नु भएका कारण च्यांग्रा खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहायक महाप्रबन्धक श्रीमणि खनालको भनाइ छ ।

‘कोभिडका कारण गत वर्षदेखि नै चिनियाँ सीमा बन्द छन् । स्वदेशमा पर्याप्त पाइएन,’ उनले भने, ‘महँगो पनि अधिक भएपछि च्यांग्रा नकिन्ने भयौं ।’ खाद्यले खसी र बोका भने दुई हजार हाराहारीको संख्यामा खरिद गर्ने जनाएको छ । गत वर्ष पनि २ हजार नै किन्ने लक्ष्य राखेकामा १ हजार ५ सय १ वटा मात्रै खरिद गर्न सकेको थियो ।

यसैबीच, दसैंमा उपत्यकामा भित्र्याउन दाङमा खसीबोका खरिद प्रक्रिया सुरु गरिएको छ । उक्त क्षेत्रमा खरिद मूल्य पनि निर्धारण भइसकेको छ । २५ किलोदेखि माथिका खसीको मूल्य प्रतिकिलो ५६५, २० देखि २५ किलोका खसी किलोको ५५० र बोकाको ५४५ रुपैयाँ निर्धारण गरिएको छ । यस वर्ष भने खरिद मूल्य गत वर्षको तुलनामा प्रतिकिलो १५ रुपैयाँ बढी परेको सहायक महाप्रबन्धक खनालले बताए ।

वीरगन्जमा पनि खरिद प्रक्रिया सुरु भएको जनाइएको छ । ‘खरिद मूल्यमा ढुवानी भाडा, बजार मूल्य सबै जोडेर खुद्रा बिक्री मूल्य निर्धारण गर्छौं,’ उनले भने, ‘खाद्यले बजार भाउभन्दा सस्तो नै मूल्य तोक्छ । त्यसमा पनि १० रुपैयाँ छुट हुन्छ ।’ स्वदेशमा पर्याप्त उत्पादन नहुँदा खसीबोकामा भारतकै भरमा पर्नुपर्ने अवस्था रहेको व्यवसायीको भनाइ छ । चाडबाडका बेला कलंकीस्थित खसी बजारबाट बिक्री हुनेमध्ये स्वदेशी ६० र भारतबाट आयातित ४० प्रतिशत हुन्छन् । ‘सरकारकै नीतिका कारण पहाडबाट खसीबोका ल्याउन गाह्रो रहेको संघका निवर्तमान अध्यक्ष थापाले बताए ।

अहिले कलंकी खसीबजारमा प्रतिकिलो ७ सय रुपैयाँसम्म खसीबोका बिक्री भइरहेका छन् । दसैंमा माग बढे किलोको ८ सयभन्दा बढी पुग्ने उनको भनाइ छ । ‘मूल्य मनलाग्दी नै छ, कम्तीमा मूल्यसूची राख्न सके सहज हुन्थ्यो,’ थापाले भने, ‘तर बजार व्यवस्थित गर्न सरकारले सघाएन ।’ व्यवसायीले खसीबोका दाङ, सुर्खेत, सल्यान, सर्लाही, चितवन, धादिङ, काभ्रेलगायत जिल्लाबाट उपत्यकामा ल्याउने गरेका छन् ।

यता पशु सेवा विभागले भने दसैंलाई आवश्यक खसीबोका स्वदेशमै पर्याप्त रहेकाले मूल्य नबढ्ने दाबी गरेको छ । मुलुकभित्र वार्षिक खसीबोका मात्रै ५४ लाख उत्पादन हुने विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए । चाडबाडका बेला व्यवसायीले अनावश्यक रूपमा बढी पैसा लिन अभाव देखाउने गरेको उनको भनाइ छ । ढकालका अनुसार भारतबाट खसीबोका आयात घट्दै गएको छ । ईकान्तिपुरमा प्रकाशित

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech