७ बैशाख २०८२, आईतवार

गिठ्ठाको अचार कति स्वादिलो ?
  • न्युज मानसराेवर

बाँके। नेपालमा गिठ्ठा र भ्याकुर भन्ने बित्तिकै चेपाङ जस्ता जनजातिको खानाको रुपमा चिन्ने गरिन्छ । अझभन्दा यो खाद्य संकट र भोकमरीको बेलामा खाने परिकारको रुपमा चिनिन्छ । तर विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरुले गिठ्ठाबाट बनेका परिकारहरु स्वाद र पोषणका कारण धेरै देशले व्यवस्थित परिकारको रुपमा प्रयोग गर्ने गरेका छन् ।

दक्षिण कोरियाको एउटा उत्कृष्ट खाद्य परिकार हो, एरियल याम अर्थात् गिठ्ठा । जुन खानेकुरालाई हामी अनिकालको खाना मान्छौं, त्यो कुनै देशको विकसित खाद्य संस्कारभित्र अटाएको खानेकुरा हो । कार्बाेहाइड्रेड र रेसादार पदार्थका कारण यसले कब्जियत, कोलेस्ट्रोल जस्ता स्वास्थ्य समस्या कम गर्न मद्धत गर्छ भनिन्छ । यसमा रहेको भिटामिन बी र फेलिक एसिडले गर्भवतीभित्र रहेको भ्रूणको विकलांगताबाट जोगाउन मद्धत गर्छ ।

एक खोजका अनुसार संसारमा ६०० किसिमको गिठ्ठा पाइन्छ । पश्चिम अफ्रिकामा यसलाई औषधिको रुपमा प्रयोग हुन्छ, जापानमा र ब्रिटेनमा यसलाई नियमित खानाको रुपमा नै प्रयोग गरिन्छ ।

बेलायतको फुड साइन्स एण्ड क्वालिटी म्यानेजमेन्टले पूर्वी नाइजेरियामा गिठ्ठाको खाद्य संस्कार र त्यसमा पाइने पोषणको बारेमा अध्ययन गरेको थियो । जसबाट दक्षिण पूर्वी नाइजेरियामा गिठ्ठाबाट पाइने पोषणको बारेमा गरिएको गुणको आधारमा सेतो गिठ्ठाको तुलनामा वैजनी र पहेँलो रंगको गिठ्ठामा बढी पोषक तत्व भेटेको पाइएको छ ।

गिठ्ठाको अचार बनाउने विधि

आवश्यक सामग्रीहरु

१. गिठ्ठा

२. खुर्सानी

३. मेथी

४. भिण्डी (अझ स्वादिष्ट बनाउनको लागि)

५. पकाउनको लागि आवश्यक भाँडाकुँडा

६. आवश्यक मरमसला

७. चुक अमिलो

कसरी बनाउने गिट्ठाको अचार ?

गिठ्ठाको अचार पकाएर खाने अचार हो । बोटमा पाकेर छिप्पिएको गिठ्ठालाई ढुंगामा थेचार्दा गिट्ठाको बोक्रा आफैं निस्किन्छ । यसरी बोक्रा निकालेर काटेपछि तरकारी पकाए जसरी नुन मसला मिलाएर पकाउने गरिन्छ । पाकिसकेपछि त्यसमा चुक अमिलो हालेर यसलाई थप स्वादिष्ट बनाउने गरिन्छ ।

अचार मात्र होइन यस्तो शरीरको लागि उपयुक्त गिठ्ठालाई तरूल जसरी उसिनेर पनि खान सकिन्छ । अहिले गिठ्ठाको महत्वलाई बुझेर काठमाडौंमा समेत कौशीमा यसको खेती गर्न सुरु गरिएको छ । गाउँघरमा सामान्य ओसिलो ठाउँमा आफैं उम्रिएर अरु कुनैपनि रुखमा लहरा फैलिएपछि यो फल फल्ने गर्छ ।

गाउँघरतिर दशैंमा अचार बनाउनको लागि भनेर साउन भदौदेखि नै गिठ्ठा संकलन गरेर राखिन्छ । यो एक किसिमको कन्दमूल हो । शाकाहारी परिवारमा यसले मासुको जस्तै महत्व राख्ने गरेको छ ।

गिठ्ठाको पोषण महत्व

सामान्यतयाः गिट्ठा कुनैपनि झाडीमा उम्रिएर रुखमा आफैं लहरा फैलाएर फल्ने कन्दमूल हो । पौष्टिक रुपमा हेर्दा यसमा भिटामिनको ए, बी, सी, के, बी ६ र बी १२ लगायतका साथै यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । चिकित्सकहरुका अनुसार गिट्ठामा फ्याट, कोलेस्ट्रोल र ट्रान्सफ्याटको मात्रा शून्य हुन्छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य २ देखि ३ डलरसम्म पर्छ । यस्तो गिट्ठामा कार्बाेहाइड्रेड पोटासियम, सोडियम, क्याल्सियम, आइरन लगायत तत्वहरु पाइन्छ । यसमा क्यान्सर प्रतिरोधात्मक गुण समेत पर्याप्त हुने चिकित्सकहरु बताउँछन् ।

स्वाद र सन्तुष्टिसँगै जसरी केही समय अघिसम्म ग्रामीण भेगमा गुन्द्रूकको तरकारीलाई अभावमा गर्जो टार्ने तरकारीको रुपमा लिने गरिन्थ्यो । अहिले त्यो शहरी बस्तीमा मानिसको रोजाइको विषय बन्ने गर्छ । त्यसरी नै गिट्ठा अहिले कन्दमूलको रुपमा अभावको खाना नभएर देशको शाकाहारीहरुको विकल्पको खाना बन्ने गरेको छ ।

  • ४ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech