७ बैशाख २०८२, आईतवार

वार्षिक तीन अर्ब मूल्यको फूल कारोबार
  • न्युज मानसराेवर

काठमाडौँ  \ तिहारमा सबैभन्दा महत्त्वपूर्ण र विशेष चिज हो फूल । तिहारको बेला फूलको माग आकासिने गरेको छ । त्यसबाहेक, विभिन्न उत्सवदेखि मृत्यु कार्यमा समेत फूलको प्रयोग अनिवार्यजस्तै भएको छ ।

तर, नेपाली बजारमा माग हुने फूल नेपालमै उत्पादन हुन थालेको भए पनि भारतबाट अनधिकृतरूपमा भित्रिने गरेका गुणस्तरहीन फूलका कारण नेपाल फूलको उत्पादनमा आत्मनिर्भर हुन सकेको छैन ।

नेपालमा व्यावसायिक फूलखेती हुन थालेको दुई दशकभन्दा बढी भयो । तर, नेपालमा फूल व्यवसाय भने धेरै पछि मात्रै सुरू भएको हो । सन् २०११ देखि सुरू भएको फूल व्यवसाय अहिलेसम्म करिब ४३ जिल्लामा विस्तार भएको छ ।

फ्लोरिकल्चर एसोसिएशन नेपालको तथ्यांकअनुसार, नेपालमा करिब सात सय व्यक्ति तथा संस्थाले फूल व्यवसाय गरिरहेका छन् ।  विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । लगभग १५७ हेक्टरमा फूलको व्यवसायीक उत्पादन हुने गरेको छ ।

नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ । पछिल्ला वर्षमा सयपत्री फूलमा नेपाल आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै बजार मागमध्ये ९० प्रतिशत फूल उत्पादन हुन थाले पनि भारतबाट अनधिकृतरुपले भित्रिने गुणस्तरहीन फूल सस्तोमा बिक्री हुँदा स्वदेशमै उत्पादित फूलले बजार नपाएको व्यवसायीहरूले बताएका छन ।

नेपालमा केही वर्षयता वार्षिक तीन अर्ब रूपैयाँ मूल्य बराबरका फूलको कारोबार हुने गरेको व्यवसायीहरू बताउँछन् ।

यस वर्षको तिहारका लागी सयपत्री फुलको करीब साढे १५ लाख माला माग हुने अनुमान व्यवसायीहरूले गरेका छन । त्यसमध्ये, १३ लाख माला आन्तरिक उत्पादनबाट धान्न सकिने र दुई लाख ५० हजार भारतबाट आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् ।

त्यसबाहेक, तिहारमा मखमली र गोदावरी फूलको तीन लाख वटा माला खपत हुने उनले बताए ।

सयपत्री फूलको व्यवसायिक उत्पादन काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, सर्लाही, सिराहा, रूपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली लगायतको जिल्लामा हुँदै आएको एसोसिएसनले जानकारी दिएको छ ।

सयपत्री फूल भारतबाट आयात हुने भए पनि तिहारमा मखमली फूल भने निर्यात हुने गरेको छ । अष्ट्रेलिया, युरोप र केही खाडी मुलुकमा नेपालबाट मखमली फूल निर्यात हुने गरेको तामाङले बताए । निर्यात हुने मखमली फूलको मात्रा भने असाध्यै थोरै रहेको छ ।

एशोसिएसनका अनुसार कोरोना महामारीअघिको सामान्य अवस्थामा आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ४२ करोड भन्दा बढीको फूलको वार्षिक कारोबार भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा करिब ३ अर्ब भन्दा बढी फूलको कारोबार हुने आँकलन व्यवसायीले गरेका थिए । तर, कोरोना महामारीका कारण चार महिना पूर्ण रुपले बजार बन्द हुँदा फूलको कारोबार २ अर्ब १५ करोडमा मात्रै सीमित भएको थियो ।

  • १३ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech