बाँके\ प्रदेश स्थापनापछि सुरेन्द्रबहादुर हमालको नाम मन्त्रीका लागि चर्चामा थियो तर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले सरकार बनाउने गरी निर्वाचन जितेपछि कांग्रेसको सरकार बन्ने अवस्था रहेन ।
३ वर्षपछि लुम्बिनीमा नेकपाबाट एमाले र माओवादी केन्द्र अलग–अलग भएर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि खेलकुद र राजनीतिलाई समानान्तर रूपमा लिएर हिँडेका उनै हमाललाई लुम्बिनीमा मन्त्री बन्ने अवसर जुर्यो ।
भारत्तोलनमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी हमाल लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भूसंरक्षण मन्त्री हुन् । प्रदेशमा कांग्रेसी राजनीतिमा हमाल चर्चित नाम हो । अझै त्योभन्दा पनि धेरै खेलाडीमा रूपमा चिनिन्छन् उनी ।
बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद हमाल मन्त्री हुनुअघि कांग्रेस प्रदेशसभा प्रमुख सचेतक थिए । हमाल प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका गजेन्द्रबहादुर हमालका सहोदर भाइ हुन् ।
आफू खेलाडी भएको हुँदा हमालको रुचि युवा तथा खेलकुद मन्त्रालयप्रति थियो । खेलकुदमा शिक्षा मन्त्रालयमा पनि जोडिएर उनले त्यो मन्त्रालय लिएनन् । माओवादी केन्द्रका नेता कूलप्रसाद केसी नेतृत्वको ५ दलीय गठबन्धनबाट ‘जम्बो’ मन्त्रिमण्डल बनाउँदा हमालको भागमा वन, वातावरण मन्त्रालय आइलाग्यो । हमाल भारत्तोलन खेलका अन्तर्राष्ट्रिय खेलाडी हुन् ।
हमालले भारत्तोलनमा नेपाललाई पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक दिलाएका छन् । ‘२०४१ सालमा धनगढीमा राष्ट्रिय भारत्तोलन थियो । त्यहाँ नेपालको बलियो व्यक्तिको उपाधि र बेस्ट लिफ्टरको उपाधि मैले जितेको हुँ,’ हमालले भने ।
२०४१ सालमा ३५औं एसियन च्याम्पियनशिपको स्न्याचमा तेस्रो बनेर पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएको हमाल बताउँछन् । उनले ओलम्पिकमा भारत्तोलनमा ६७.७ उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । उनी खेलकुदमा सन् १९८४ मा ओलम्पिकमा सहभागी भएका थिए । भारत्तोलनको अन्तर्राष्ट्रिय ‘ए’ लेभलको रेफ्री पनि हुन् उनी ।
हमालले नेपालको तर्फबाट विभिन्न प्रतियोगितामा सहभागी हुँदै १३ वटा जितेर देशको गौरव बढाएका थिए ।
अहिले मन्त्री हुँदा सक्रिय खेलजीवनमा नरहे पनि शारीरिक रूपमा पुनर्जीवन पाएका सुरेन्द्रमा सामाजिक र खेल गतिविधिबाट युवापुस्तालाई सफलता र सत्मार्गमा डोर्याउन सक्ने क्षमता र दृढता दुवै छ । उनले आत्मकथा ओलम्पियन पुस्तक पनि लेखेका छन् ।
२०३७ सालमा नेपालगञ्जमा भएको भारत्तोलन प्रतियोगिता हेरेपछि खेलतर्फ उनको रुचि बढेको हो । ‘त्यहाँ प्रतियोगिता हेर्न म पनि गएको थिएँ,’ हमालले भने, ‘बलियो जीउडाल भएका म जस्तै खेलाडी खेल्न सक्ने रहेछन्, म पनि खेल्न सक्छु भनेर लागेको थिएँ ।’
भारतको दिल्लीमा आयोजित एसियन खेलकुद (सन् १९८२), लासएन्जेल्स ओलम्पिक (सन् १९८४) र एसियन गेम चीनको बेइजिङ (सन् १९९०) मा उनले पोजिसनको लागि डिप्लोमा उपाधि पाएका थिए ।
खेलकुदमा लागेको ४ वर्षमै ‘स्ट्रोङ्गेस्ट म्यान अफ नेपाल २०४१’ उपाधि पाएका उनी बेस्ट लिफ्टर (सर्वोत्तम खेलाडी) २०४१ बाट पनि पुरस्कृत भएका हुन् । भारत्तोलनभन्दा अगाडि उनी टेबलटेनिस खेल्थे । नेपालगञ्जको भारत्तोलनपछि उनको खेल जीवन पाखुरामा दम देखाउने खेलतर्फ मोडियो ।
उनी नेपाल भारत्तोलन संघका पूर्व उपाध्यक्ष पनि हुन् । खेलसँगै हमालले २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षको भूमिका रहेर पनि काम गरेका छन् ।
हमालले कांग्रेसभित्र इमान्दार र अध्ययनशील नेताको छाप पनि बनाएका छन् । ‘राजनीतिसँगै खेलका प्रतियोगितामा भाग लिन छाडे पनि खेलको विकासका लागि व्यवस्थापकीय रूपमा सहभागी हँुदै आएको थिएँ । अब मन्त्री भएको छु । मैले सम्हालेको मन्त्रालय खेलकुद नभए पनि खेलकुदको विकासमा ध्यान छ,’ उनले भने ।
२०१९ असोज ६ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीमा जन्मिएका मन्त्री हमाल २०३५ सालदेखि नेपाल विद्यार्थी संघर्षबाट राजनीतिमा पनि जोडिएका थिए । परिवारका ६ दाजुभाइमध्ये सुरेन्द्र राइँला हुन् ।
खेलकुदसँगै राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन कांग्रेस राजनीतिमा सक्रिय भएर अहिले मन्त्री बन्ने अवसरसम्म आइपुगेको उनी बताउँछन् । उनी २०४९ सालमा कांग्रेसबाट तत्कालीन नेपालगञ्ज नगरपालिकाको उपमेयर समेत भएका थिए । हमालले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट कानून विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । उनले ४ वर्ष अगाडि क्यान्सर जस्तो जटिल रोगलाई जितिसकेका छन् ।
विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न मन्त्री हमालको खेलकुद, शिक्षा र पूर्वाधार निर्माणमा रुचि छ । ‘नेपाल खेलको उर्वर भूमि हो तर खेलाडीलाई खेलमै टिकिरहेर काम गर्ने अवस्था छैन । त्यसैले खेलकुद क्षेत्रमा सकेसम्म केही गर्नुपर्छ भन्ने छ । म खेलमन्त्री नभए पनि हाम्रो क्याबिनेटदेखि शिक्षा, विज्ञान, युवा तथा खेदकुद मन्त्री बसिउद्धिन खाँलाई व्यक्तिगत पनि सुझाव दिएर खेलको विकासमा लाग्छौं,’ उनले भने ।
खेलकुदमा हालसम्म राज्यको खासै ध्यान पुग्न सकेको छैन । खेल जीवनमा आफूले भोगेको अभाव र खेलाडीका समस्या मन्त्री भएपछि पूर्ति गर्न उनी चाहन्छन् । ‘खेलको विकासको लागि मलाई प्रोत्साहन छ,’ उनले भने, ‘छोटो कार्यकाल छ, मैले केही गरेर देखाउनुपर्ने छ ।’
लुम्बिनीमा माओवादी केन्द्र र कांग्रेसबीच ८/८ महिना आलोपालो सरकार चलाउने सहमति भएको भन्ने कांग्रेस–माओवादीका नेताहरू नै बताउँछन् । सरकारको नेतृत्वकर्ता फेरिँदा मन्त्रीहरू पनि फेरिने अवस्था आयो भने हमालको सत्ता यात्रा पनि क्षणिक नै हुने देखिन्छ । आउँदै गरेको निर्वाचनको समयमा जनतालाई छुने गरी काम गरेर आफ्नो र कांग्रेसको लोकप्रिय बढाउनुपर्ने दबाब पनि मन्त्री हमाललाई छ ।
छोटो अवधिलाई उनले कसरी उपयोग गर्छन् त्यो भने आउने दिनले नै देखाउने छ तर विकासप्रेमी, असल र इमान्दार नेता र मन्त्रीका रूपमा आफूलाई कार्यकर्ताले चिनून् भन्ने हमालको चाहना छ । खेलकुदकै सिलसिलामा उनी अमेरिका, रसिया, चीन, इरान, इराक, पाकिस्तान लगायत दर्जनभन्दा बढी देशमा पुगेका छन् ।