जनकपुरधाम- धनुषासहित मिथिलाञ्चलका अन्य जिल्लाहरूमा दीपावली, भातृद्वितियासहितका पर्व सम्पन्न भएसँगै अहिले छठको रौनक छाएको छ। मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वहरूमध्ये यो पनि एक हो।
जसरी दियोको पर्व दीपावलीको तयारी १५ दिन अघिदेखि सुरु हुनेगर्छ त्यसरी नै छठ पर्वको तयारी पनि ५/७ दिन पहिलेदेखि नै हुनेगर्छ। कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कात्तिक शुक्ल सप्तमीमा सम्पन्न हुन्छ। छठ पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ।
हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ। गरिब, धनी, ब्राह्मण, दलित, उचनिचको ख्याल नगरी यो पर्व एकै साथ मिलेर मनाइन्छ। जसलेगर्दा समाजमा रहेका छुवाछुत जस्ता विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन्।
छठ पर्वको पूजा विधि
यस पर्वमा षष्ठी तिथिमा व्रत बस्ने परम्परा छ। सूर्य देवतालाई पहिलो दिन नै अर्घ्ये अर्पण गरिन्छ। जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ्ये’ भनिन्छ। सूर्य देवतालाई खास गरी उक्त दिन अर्घ्ये दिने गरिन्छ जुन दिन उदयकालमा केही बेरका लागि भए पनि षष्ठी तिथि परेको होस्। ठिक त्यसै अनुरूप उदयकालमा दिइने अर्घ्यका लागिसमेत त्यही विधि अपनाइन्छ। उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अर्घ्य’ दिइन्छ।
छठ पूजामा जुन सामाग्री साँझको समयमा सूर्य देवतालाई प्रसादको रूपमा अर्घ्य अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ्य’ मा दिइने परम्परा रहेको छ। हुनत सूर्य देवतालाई अर्पण गरिएको प्रसादहरू साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राख्ने परम्परा छ। तर, केही स्थानमा नदीहरूमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण प्रसाद घर पनि लगिन्छ। ‘यस्तो अवस्थामा भोलिपल्ट बिहान सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याइएर छठ पर्व मनाइन्छ’, व्रतालु जनकपुरधाम उपमहानगरपालिका-४ की मधु झाले भनिन्।
छठको व्रत गर्नेहरू सबैजना चौथी तिथिका दिन नुहाई धुवाई गरी चोखो भई अर्वाअर्वाइन खाने गर्छन्। यही तिथिका दिनदेखि छठ पर्व औपचारिक रूपमा प्रारम्भ हुनेगर्छ। यसदिन व्रत गर्ने महिला र पुरुष नुहाई धुवाई गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्छन्।
कात्तिक शुक्ल पञ्चमी तिथिका दिन दिनभरि पर्व गर्नेहरू उपवास गर्छन्। उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुलोमा नयाँ माटोको भाँडामा अरबा चामलको खीर बनाउने गर्छन्। सख्खर राखेर बनाइएको खीर देवीदेवतालाई प्रसादको रूपमा चढाइन्छ र उक्त प्रसाद स्वरूप खीर व्रतालुका साथ घरका अन्य सदस्यहरूले ग्रहण गर्छन्। जसलाई मिथिलाञ्चलमा खरना भनिन्छ।
कात्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिलाहरू डुब्दै गरेको सूर्यलाई अर्घ्य दिने गर्छन्। उक्त समय पुरुष व्रतालु पोखरी, तालतलैयामा सूर्य देवतालाई हातमा नरिवल वा अन्य कुनै फलफूल लिई उभिरहेका हुन्छन्। बर्तालु महिलाले साँझको समयमा घण्टौंसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अर्घ्य चढाउने गर्छन्।
उक्त दिन छठ व्रत गर्नेहरूको घरका सबै सदस्यहरू प्रायः रातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्छन्। छठको प्रसादहरूमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिंगारा, फलफूल, पान, सुपारी, धूप, दीप, अरतक पात, चना आदि हुन्छ। पर्वको दिन व्रतगर्नेहरूलाई यस मन्त्रबाट संकल्प लिनु आवश्यक हुन्छ।
नमेऽद्य कात्तिक मासीय शुक्ल पक्षे षष्ठम्यां तिथौ (आ–आफ्नो गोत्रको नाम लिएर)
जन्म जन्मान्तरार्जित ज्ञाताज्ञात कायिक वाचिक मानसिक
सकल पाप कामावाप्ति काम अद्य प्रातश्च सूर्यायार्घमहंदास्ये।
तत्पश्चात् अक्षत लिएर नमो भगवान सूर्य इहागच्छ यहतिष्ठतः उच्चारण गरी पूजाको थालीमा अक्षत राखी जल लिएर एतानि पाद्यार्घाचमनीयस्नानीय पूनराचमनीय नमो भगवते श्री सूर्यनारायणय नमः उच्चारण गरी जल चढाई फूलमा रातो चन्दनको लेप लगाई, रातो फूल, दुबो अक्षत र प्रसादका लागि तयार पारिएका परिकारहरूसहित जल लिएर सूर्यतिर हेर्दै नमोस्तु सुर्याय नमः उच्चारण गरी सम्पूर्ण डाला उत्सर्ग गर्दै कथा सुन्ने गरिन्छ।
त्यसपछि व्रत गर्ने महिला पुरुषसहित घरका अन्य सबै सदस्यहरू घर फर्किन्छन्। र, घरमा भोजन गर्ने गर्छन्। जसलाई मैथिलीमा पारण भनिन्छ। पारण भएपछि ४ दिवसीय छठ पर्वको समापन हुन्छ। यस विधानले छठ पर्व मनाइन्छ।
षष्ठी देवी
कात्तिक शुक्ल षष्ठी तिथिका दिन डुब्दै गरेको सूर्यका साथ साथै षष्ठी देवीको समेत पूजा गरिन्छ। पुराणहरूका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ। उनलाई सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ।
माता सृष्टिको सम्पूर्ण जीवको रक्षिका देवी छिन्। प्रकृतिको छैटौं अंश भएका कारण उनको नामसमेत षष्ठी रहेको छ। षष्ठी देवीको पूजनको प्रचार प्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतक कालदेखि आरम्भ भएको मानिन्छ। यस कारण छैठि माता भन्ने मिथिलाञ्चलमे परम्परा रहेको छ। हुनत केहीले सूर्यको माता भनेरसमेत षष्ठी देवीको पूजा गर्छन्।
छठको पौराणिक महत्त्व
लंका विजयपछि रामराज्यको स्थापनाका दिन कात्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान राम र माता सीताले उपवास गरेका थिए र सूर्यदेवको आराधना गरेका थिए। उनीहरूले सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशीर्वाद प्राप्त गरेको धार्मिक विश्वास छ। एक किसिमले छठ पर्वको आरम्भ यसैदिनदेखि भएको मानिन्छ। ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ।
यसै कारणले गर्दा हिन्दु शास्त्रहरूमा सूर्यलाई प्रत्यक्ष देवताको रूपमा मानिएको छ। एक अर्को मान्यताका अनुसार छठ पर्व महाभारत कालदेखि सुरु भएको मानिन्छ। छठ पूजाको सुरुवात सूर्य पुत्र कर्णले गरेको मानिन्छ।
कर्ण भगवान् सूर्यको परम भक्त थिए। उनी हरेक दिन जलमा उभी सूर्यलाई अर्घ्य दिने गर्थे। सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भए। महाभारतमा सूर्य पूजाको अर्को वर्णनसमेत पाइन्छ। पाण्डव पत्नी द्रौपदीले आफ्नो परिजनको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य पूजा गर्थिन्।
छठ पर्वको कथा
कथाका अनुसार राजा प्रियवद निसन्तान थिए। त्यस समय महर्षि कश्यप पुत्रेष्टि यज्ञ गराएर उनको पत्नी मालिनीलाई यज्ञाहुतिका लागि बनाइएको खीर खानका लागि दिए। यसको प्रभावले उनलाई सन्तानको रूपमा छोरा प्राप्त भयो तर उक्त छोरा पनि मृत नै जन्मिए।
प्रियवद पुत्रलाई लिएर समशान गए र पुत्र वियोगमा प्राण त्याग्न लागे। ठिक सोही समयमा मानस कन्या देवसेना प्रकट भइन् र भनिन्, ‘सृष्टिको मूल प्रवृत्तिको छैटौं अंशबाट उत्पन्न भएका कारण मेरो नाम षष्ठी परेको छ। हे राजन तपाई मेरो पूजा गर्नुस् तथा अन्य व्यक्तिलाई समेत यसका लागि प्रेरित गर्नुस्।’ राजा पुत्र इच्छाका कारण देवी षष्ठीको व्रत गरे र उनलाई पुनः पुत्र प्राप्ति भयो। उनले गरेको यो पूजा कात्तिक शुक्ल षष्ठी तिथिको दिन भएको थियो। यस प्रकार कात्तिक शुक्ल षष्ठी तिथिको दिन अर्थात् छैठि मैयाँको पूजा गर्ने परम्परा बन्यो।
छठ पर्वको वैज्ञानिक महत्त्व
छठ पर्वको परम्परा वैज्ञानिक र ज्योतिषीय दृष्टिले समेत महत्पूर्ण रहेको पाइएको छ। षष्ठी तिथि एक विशेष खगोलीय अवसरको रूपमा रहेको छ। जुन समयमा पृथ्वीको दक्षिणी गोलार्धमा सूर्य हुन्छ त्यस समयमा दक्षिणायन सूर्यको अल्ट्राभोइलेट किरण पृथ्वीमा सामान्यभन्दा बढी मात्रामा एकत्रित हुन्छ।
सामाजिक सांस्कृतिक महत्त्व
छठ पूजाको सबैभन्दा महत्त्वपूर्ण कुरा यसको पवित्रता र लोकपक्ष रहेको छ। भक्ति र आध्यात्मिक हिसाबले परिपूर्ण यस पर्वका लागि मन्दिर वा आडम्बरको आवश्यकता भने हुँदैन। यो पर्वले समाजमा सबैको महत्त्व आ–आफ्नो स्थान उत्तिकै छ भन्ने कुराको आभाससमेत गराउँदछ।
जसरी की माटोको सामाग्रीका लागि कुम्हाले, बाँसको सामाग्रीका लागि डोम समुदाय, पूजाअर्चनाका लागि ब्राह्मण पूरोहितीनी, सख्खर, चामलका लागि किसान र व्यापारी लगायत, पूजाका प्रसाद बनाउनका लागि महिला, घाटमा लैजानका लागि पुरुष र जसरी कुनै दिनदुखी बिना चप्पल जुत्ता कसरी हिँड्छन्, बिना साधन कुनै व्यक्ति कसरी काम गर्दछन्, यसको आभास गराउनका लागि घाटमा प्रसाद लैजानेहरू धनी होस् या गरिब जुत्ता, चप्पलबिना हिँडेर नै लैजाने गर्दछन्।
त्यसैगरी छठको विशेषता सहितको मैथिली लोक गीतसंगीतले जीवनलाई सार्थक बनाउन र पवित्र पर्वका लागि अझ बढी निष्ठावान् बनाउन सहयोग गर्दछ।
छठको सन्देश
छठ पर्वमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको सम्मिश्रण पाइन्छ। जस्तै स्थानीय समुदायद्वारा हस्तनिर्मित बाँसको नाङ्लो, कनसुप्ती, माटोद्वारा निर्मित सामाग्रीहरू, ढकना, सरबा, दियो, हाथी आदि सामाग्रीहरू।
हिन्दु धर्म संस्कृतिमा छठ पर्वको विशिष्टता आफैमा महत्पूर्ण रहेको छ। यस पर्वमा उदाउँदो सूर्यका साथै अस्ताउँदै गरेको सूर्यलाई समेत एकै प्रकारको आस्था र निष्ठाका साथ पुजिन्छ।
त्यसैगरि हरेक वर्ग, जात, समुदायका मानिस एकै घाटमा एकसाथ यो पर्व मनाउने गर्छन्। जसले उक्त कुरालाई प्रस्ट्याउँछ की सृष्टि सबैको लागि समान हो।
वातावरणीय हिसाबले हेर्ने हो भने पनि छठ पर्वको ज्यादै नै महत्त्व रहेको छ। वर्षमा एक पटक भए पनि हामीले आफ्नो जीवनसँग अत्यधिक नजिक रहेको प्रकृतिलाई संरक्षण गर्नुपर्छ र पोखरी, तालतलैया, नदीलगायत पानीको मुहान सरसफाइ गरिन्छ जसले हामीलाई जीवन्त राख्न महत्त्वपूर्ण सहयोग गर्दै आएको पानीलाई हामीले संरक्षक गर्नुपर्छ भन्ने खालका सन्देश दिएको छ।