काठमाडौँ\नेकपा एमालेको आसन्न १० औं महाधिवेशनले राजनीतिक सरगर्मी बढाएको छ । कात्तिक २७ मा एकैपटक देशभर महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । प्रतिनिधि चयन भएपछि एमालेमा महाधिवेशनको रौनक अझ बढ्नेछ ।
एमालेले भर्खरै गरेको वडा र पालिका तहको अधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास भएको थियो । अध्यक्ष केपी शर्मा ओलीले नेकपाको निरन्तरता कायम रहेको नयाँ एमालेको रूपमा पार्टीलाई अर्थ्याउने गरेका छन् ।
त्यतिमात्रै होइन, भर्खरैको एमाले विभाजनपछि संगठन सुदृढीकरण र पुनर्गठनको सुदुर बिन्दू पनि हो, एमालेको दशौं महाधिवेशन । नेकपाको विभाजन र एमालेको पनि विभाजनपछिको पहिलो महाधिवेशन भएकाले पार्टीका सबै तहमा सर्वसम्मत नेतृत्व चयन होस् भन्ने चाहना ओलीले प्रकट गर्दै आएका छन् ।
पार्टीभित्र अन्तर्विरोध र विवाद हुँदा विरोधीका लागि चर्चाको विषय बन्ने भएकाले सहमतिमा नेतृत्व छान्नुपर्ने र त्यसो हुँदा पार्टी एक ढिक्का रहेको सन्देश जाने पनि ओलीले बताउने गरेका छन् । देशभरको वडा र पालिका तहको अधिवेशन केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दा ओलीले सर्वसम्मतिमा जोड दिएका थिए ।
महाधिवेशन एमालेको सर्वोच्च संस्था हो, जसले पार्टीको केन्द्रीय कमिटी निर्वाचित गर्छ । केन्द्रीय कमिटी सर्वोच्च कार्यकारी संस्था हो । एमालेको विधानले महाधिवेशनबाट बहुपदीय प्रणालीको केन्द्रीय कमिटी चयन गर्ने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीको निर्वाचन गराउनका लागि पार्टीले केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ । तर, आगामी महाधिवेशनबाट कसरी नेतृत्व चयन हुन्छ भन्नेबारे एमालेभित्र व्यापक चासो र चर्चा छ ।
एमालेको दशौं महाधिवेशनमा १९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । उनीहरूको निर्वाचन कात्तिक २७ गते हुँदै छ । प्रतिनिधि चयनमा पनि एमालेले सकेसम्म सहमतीय प्रणाली अपनाउन भनेको छ ।
ओलीनिकट नेताहरू दशौं महाधिवेशन एकताको महाधिवेशन पनि भएकाले सहमतिमा नै नेतृत्व चयन हुने बताउँछन् । महाधिवेशनबाट एमालेले २२५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ, जसमा १५ जनाको पदाधिकारी हुनेछन् । एमालेले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ र सचिव ७ जना रहने गरी पदाधिकारी चयन गर्नेछ ।
आगामी महाधिवेशनबाट ओली फेरि पनि पार्टी नेतृत्वमा दोहोरिने तयारीमा छन् । केहीअघि उनले दोहोर्याएर कक्षा नपढ्ने अभिव्यक्ति दिएका थिए । तर, अहिले उनी कक्षा दोहोर्याउने मनस्थितिमा छन् । असोज १५–१७ मा सम्पन्न भएको विधान महाधिवेशनमा साढे ६ हजार प्रतिनिधिलाई साक्षी राखेर उनले भनेका थिए, ‘मलाई अगुवाको रूपमा, प्रिय साथीको रूपमा दिएको विश्वास एक थोपो पनि तलमाथि पर्ने छैन । देशको हितविरुद्ध, जनताको हितविरुद्ध तलमाथि पर्ने छैन । नेकपा एमालेलाई मधुकैटभले हल्लाउन नसक्ने अवस्थामा पुर्याएर तपाईंहरूलाई जिम्मा लगाउँछु ।’
स्वस्थानी व्रतकथामा मधुकैटभलाई शक्तिशाली दानवको रूपमा उल्लेख गरिएको छ । उनले प्रचण्ड र माधव नेपाललाई इंगित गर्दै उक्त अभिव्यक्ति दिएका थिए ।
विधान महाधिवेशनमा ओलीले अध्यक्षमा दोहोरिने स्पष्ट संकेत प्रतिनिधिहरूलाई दिएका छन् । एमालेको विधान पनि ओली अनुकूल हुने गरी संशोधन भएको थियो । ७० वर्ष उमेर पूरा नहुँदासम्म पदाधिकारीमा उम्मेदवारी दिन पाइने र पदाधिकारी रहँदै ७० वर्ष उमेर पुगे पनि पूर्ण कार्यकाल काम गर्न पाउने गरी विधानमा व्यवस्था गरिएको छ ।
अहिले एमालेमा ओलीलाई नेतृत्वमा टक्कर दिने नेता देखिएका छैनन् । ओलीलाई टक्कर दिनसक्ने नेता माधव नेपालले एमाले छाडिसकेका छन् । पहिले माधव नेपाल खेमामा रहेर र अहिले एक्लै एमाले संस्थापनसँग संघर्ष गरिरहेका भीम रावलले मंगलवार अछामको साँफेबगर पुगेर एमाले अध्यक्षका लागि उम्मेदवारी दिने उद्घोष गरेका छन् । रावलले आफ्नो घोषणालाई यथावत राखेमा ओली सर्वसम्मत अध्यक्ष बन्ने अवस्था नरहन सक्छ । तर, निर्वाचनबाटै भए पनि पार्टी अध्यक्ष ओली नै दोहोरिने अवस्था छ ।
त्यसबाहेकको पदाधिकारी तहमा नेताको व्यवस्थापन ओलीले कसरी गर्छन् भन्ने कुरा पनि महत्वपूर्ण छ । वर्तमान महासचिव ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन । विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल लगायतले महासचिव पदमा आँखा लगाइरहेका छन् । नेकपा छँदा पनि महासचिव रहेको र ओलीले आजको एमालेलाई नेकपाको निरन्तरता भनेकाले पौडेलको दाबेदारी सबैभन्दा बलियो मानिएको छ ।
माओवादी केन्द्रबाट आएका र एमाले विभाजनमा साथ नदिएर एमालेमै रहेका करीब १५ जना नेताको व्यवस्थापन पनि ओलीका लागि चुनौतिपूर्ण छ ।
एमाले केन्द्रीय सदस्य एवं ओली निकट नेतृ पद्मा अर्याल १० औं महाधिवेशनलाई एकताको महाधिवेशन भनेर उद्घोष गरिएको र केन्द्रीय कमिटी सर्वसम्मतिमै चयन गर्ने नेतृत्वको सोच रहेको बताउँछिन् ।
उनले भनिन्, ‘अहिलेको एमाले नेकपाको निरन्तरता हो । एकताको महाधिवेशनमा सकेसम्म सर्वसम्मत गर्नका निम्ति प्रयत्न गरिन्छ । नेकपाको निरन्तरताको रूपमा आजको एमाले हो । पार्टी एकतामा लागेका र पार्टीभित्रको संघर्षमा सामेल भए पनि मूल पार्टीमै फर्केर काममा लागिरहेका साथीहरूको प्रतिनिधित्व र संरक्षणको प्रश्न पनि महाधिवेशनले हल गर्नुपर्ने छ । त्यसो हुँदा सकेसम्म सर्वसम्मतिमा नेृतत्व चयनको प्रयास हुन्छ ।’
महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाउन वडा अधिवेशनबाटै त्यसको अभ्यास थालिएको छ । ‘सकेसम्म सर्वसम्मत गर्ने, मतदान नगर्ने कुरा वडा अधिवेशनदेखि शुरूआत गरिएको छ । प्रतिनिधि चयनमा पनि सोही ढंगले गर्नू भन्ने पार्टीको निर्देशन भएकै छ’, अर्यालले भनिन्, ‘नेकपाको निरन्तरताको रूपमा एमालेमा आएका र पार्टीभित्रको संघर्षमा सामेल भएर पनि मूल पार्टीमै फर्केर काम गरिरहेका दुई पक्षलाई ख्याल गरेर अबको महाधिवेशनले नेतृत्व चयन गर्नुपर्छ भन्ने पार्टी नेतृत्वको सोच छ ।’
एमालेमा विवाद गर्ने पंक्ति पार्टी छाडेर गएको र अब झगडा गर्ने पक्ष बाँकी नरहेको विश्लेषणमा ओली छन् । आगामी महाधिवेशनपछि बन्ने पार्टीमा आफ्ना विरोधी कम्तिमा पदाधिकारी तहमा नरहुन् भन्ने पक्षमा ओली छन् ।
‘पार्टीमा लामो समयदेखिको द्वन्द्व र अराजकता थियो, त्यसले एक ढंगले विश्राम लिएको छ । जुन ढंगले भए पनि पार्टीभित्र द्वन्द्व र अराजकताले विश्राम पाएको छ’, आर्यालले भनिन्, ‘अब पार्टीको नेतृत्व चयन गर्दा अधिकतम सहमतिका निम्ति प्रयत्न हुन्छ । अनुहार हेरेर पद सिर्जना गर्ने कुरा हुँदैन । बहुकेन्द्र निर्माण गर्नेगरी पद सिर्जना पनि हुँदैनन् ।’
एमालेको विधान महाधिवेशनले केन्द्रमा पदाधिकारीहरू सदस्य रहेको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी रहने गरी विधान संशोधन गरेको छ । त्यसो हुँदा १५ जनाको सचिवालय, ४५ जना सदस्य रहेको स्थायी कमिटी र २२५ सदस्य रहेको केन्द्रीय कमिटी निर्माण हुनेछ ।
माधव नेपालको साथ छाडेर एमालेमा रहेका नेतामध्ये धेरैजसो ओलीसँग विवाद गर्ने पक्षमा देखिएका छैनन् । चुनावी प्रतिस्पर्धा गर्दा पनि जित्ने आधार नभएकाले ओलीले जुन भूमिका दिन्छन्, त्यसैमा चित्त बुझाउनुपर्ने अवस्थामा उनीहरू छन् । विभाजनपछिको पार्टीमा कमजोर आधार भएका कारण महाधिवेशनमा प्रतिस्पर्धाभन्दा सहमतिमै उनीहरूको जोड रहने निश्चित छ ।
एमालेका अर्का एक नेता भन्छन्, ‘दशौं महाधिवेशन एकताको महाधिवेशन हो । केपी ओली नै पार्टी अध्यक्ष रहन्छन् । अरू पदहरूमा सहमतिमा नेतृत्व चयन हुन्छ । योग्यता, क्षमता र आवश्यकताका आधारमा जिम्मेवारी दिइन्छ । अबको एमालेमा विवाद, झगडा र भेदभावको गुञ्जायस रहँदैन ।’
पार्टी विभाजनमा साथ नदिएका, माओवादी केन्द्रबाट एमालेमा आएका सबै नेताको योग्यता र क्षमताअनुसार व्यवस्थापन गरेर नेतृत्व चयन गरिने ती नेताले बताए । ‘सबैलाई उनीहरूले चाहेकै जिम्मेवारी नहुन सक्छ । तर, उहाँहरूको क्षमताको कदर हुने र आत्मसम्मान पनि हुने गरी जिम्मेवारी दिइन्छ । आगामी महाधिवेशन सहमतिको महाधिवेशन हो । निर्वाचन गर्ने गुट, उपगुट सिर्जना गर्ने काम हुँदैन’, ती नेताले भने ।