बाँके\ नेकपा एमालेको पहिलो पुस्ता पार्टीको जिम्मेवारीबाट बहिर्गमनको संघारमा आइपुगेको छ। यही मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट धेरै नेताहरूको बहिर्गमनको प्रक्रिया सुरु हुनेछ।
एमालेको विधानको धारा ६४ (२) मा ‘सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने’ उल्लेख छ। अर्थात् ७० वर्ष पुगेपछि कुनै पनि कार्यकारी कमिटीमा रहन पाइनेछैन। तर, ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले भने आफ्नो कार्यकालकै अवधिमा ७० वर्ष पूरा गरेमा पनि पदमुक्त हुनुपर्ने छैन।
एमाले केन्द्रीय अनुशासन आयोगका प्रमुख अमृत बोहरा, केन्द्रीय सल्लाहकार परिषद्का प्रमुख केशव बडाल, स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलको लागि एमालेबाट बहिर्गमन बाध्यकारी बनेको छ, उमेर हदका कारण। तीबाहेक अहिले पदाधिकारी तथा स्थायी कमिटीमा रहेका थुप्रै नेताहरु ७० वर्षको आसपासमा पुगेका छन्।
अध्यक्ष केपी शर्मा ओली (६९ वर्ष), उपाध्यक्षत्रय युवराज ज्ञवाली (६८ वर्ष) र अष्टलक्ष्मी शाक्य (६७ वर्ष), भीम रावल (६६ वर्ष), महासचिव ईश्वर पोखरेल (६८ वर्ष) तथा स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ (६८) र रामबहादुर थापा बादल (६६ वर्ष) का लागि एमालेको कुनै मुख्य पदमा पुग्ने वा रहने यही महाधिवेशन नै अन्तिम अवसर हो। यसपटक पदमा रहे पनि नरहे पनि अर्को पटक उनीहरुले अवसर पाउने छैनन्। पद पाउने वा दोहोरिनेहरुले पाँच वर्ष सक्रिय भूमिका निर्वाह गर्न सक्ने भए पनि बाँकीको राजनीतिक जीवन निष्क्रिय बन्दै जान सक्छ।
आठौं महाधिवेशनबाट मोदनाथ प्रश्रित तथा नवौं महाधिवेशनबाट भरतमोहन अधिकारी लगायत नेताहरुको ७० वर्ष उमेर हदका कारण अनिवार्य बहिर्गमन भएको थियो। एमाले र माओवादी केन्द्रबीच एकता भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधानमा ७० वर्षे प्रावधान हटाइएको थियो। एमाले ब्युँतिएसँगै सो प्रावधान पनि ब्युँतियो। गत असोज १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवेशनबाट पनि सो प्रावधान यथावत् राखियो। केही प्रष्ट व्याख्या भने गरियो।
एमालेमा ७० वर्षे प्रावधान कायमै रहेको र एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा रहन नपाउने व्यवस्था पनि रहँदा एमालेको अध्यक्ष हुने आकांक्षा राखेका ईश्वर पोखरेल लगायतका नेतालाई घाटा लागेको छ। किनकि, यसपटक ओलीबाहेक अन्य नेता अध्यक्ष बन्ने सम्भावना छैन। अर्कोपटकका लागि ओलीबाहेकका यी दाबेदार नेताहरुको उमेर कटिसक्छ।
भीम रावलले यसपटक अध्यक्षमा उम्मेदवारी दिएर आफ्नो दाबेदारी पेस गरेका छन्। तर, यसपटक अध्यक्ष बन्ने उनको सम्भावना देखिँदैन। अर्कोपटक उम्मेदवार हुन पाउँदैनन्।
अध्यक्ष मात्रै होइन, उपाध्यक्षकै आकांक्षा राखिरहेका कतिपय नेताहरुको लागि पनि यो महाधिवेशनमा ‘गर वा मर’को अवस्था छ। राजनीतिबाट बाहिरिन मन नलागिसकेको तर उमेरका कारण अहिल्यै माथिल्लो पदमा पुगिसक्नुपर्ने दबाबमा उनीहरु छन्।