काठमाडौँ\ अस्वाभाविकरूपमा एउटै बनोटका सुनका बालाहरू भित्रिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार विभागको कार्यालयले अपरेसन चलायो ।
मंसिर १४ गतेबाट चलाएको अपरेसनमा ४ दिनभित्र ११ सय ७६ जनाबाट ५८ केजी सुन बरामद गरेको भन्सार विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।
‘दुबईबाट काठमाडौं आउने नेपालीले अस्वाभाविक रूपमा सुन ल्याएको देखिएपछि हामीले अपरेसन चलाएका हौं,’ उनले भने ।
भट्टराईका अनुसार अपरेसन चलाएको पहिलो दिन अर्थात् मंसिर १४ गते दुबइबाट आउनेहरूले २१ केजी सुन ल्याएका थिए । दोस्रो दिन १२ केजी र तेस्रो दिन १५ केजी र चौथो दिन १० केजी सुन विभागले नियन्त्रणमा लियो ।
नियन्त्रणमा लिइएकामध्ये ४१ केजी सुन भन्सार तिरेर लगिसकेका छन्, भने अझै १७ केजी लैजान बाँकी रहेको भट्टराईले लोकान्तरलाई बताए ।
५० ग्राम सुनको भन्सार शुल्क र कर गरी जम्मा ४८ हजार ६५ रुपैयाँ हुन आउने भट्टराईले बताए । यसरी हेर्दा प्रतिकेजी सुनको भन्सार ९ लाख ६१ हजार ३ सय रुपैयाँ हुन आउँछ ।
४१ केजी सुनको ३ करोड ९४ लाख १३ हजार ३ सय रुपैयाँ राजस्व उठिसकेको छ भने अझै १७ केजीको १ करोड ६३ लाख ४२ हजार १ सय रुपैयाँ उठ्ने देखिन्छ ।
भन्सार विभागका अनुसार शुक्रबार पनि त्यही प्रकृतिका सुनका बाला भित्रिने क्रम जारी छ । हरेक दिन राति १२ बजे मात्र हिसाबकिताब हुने भएकाले शुक्रबारको यकिन तथ्यांक आउन बाँकी छ ।
अपरेसन चलाउनुअघि यति ठूलो परिमाणको सुन गहनाका रूपमा विना भन्सार विमानस्थलबाट बाहिरिने गरेको थियो ।
विमानस्थलमा बाला आतंक
भन्सार विभागले यसभन्दा अगाडि त्यसरी आउने सुनका बालालाई खासै महत्त्व दिएको थिएन । काँचो सुन ल्याउन नपाइने भएपनि गहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउन यात्रुलाई छुट छ ।
केही दिनआगाडि गरेको अनुसन्धानमा गहना बनाएर भन्दा पनि काँचो सुनलाई बालाको आकारमा ढालेर ल्याएको पाइएपछि अपरेसन चलाउन थालेको प्रमुख महेश भट्टराईले बताए ।
‘अस्वाभाविकरूपमा सुन आउन थाल्यो त्यसपछि हामीले अनुसन्धान गर्यौं दैनिक किलोका किलो सुन आउन थालेपछि अपरेसन चलाएका हौं,’ उनले भने ।
एकै फ्लाइटका ८० प्रतिशत यात्रुका हातमा सुनका बाला
भन्सार विभागले बरामद गरेको सुन दुबइबाट आउने ७५ देखि ८० प्रतिशत यात्रुले बोकेर ल्याउने गरेको पाइएको छ ।
भन्सार विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता किशोर बर्तौलाका अनुसार एउटा उडानमा २ सय जना आउँदा १५० देखि १६० जनासम्मले सुनको बाला लगाएर आउने गरेका छन् ।
‘हिजो अस्तिको अवस्थालाई हेर्ने हो भने एउटा उडानमा आउने ७५ देखि ८० प्रतिशतले बाला लगाएर आएको पाएका छौं,’ उनले लोकान्तरसँग भने ।
उनका अनुसार सुनको बाला लगाएर आउने सबै कामदार भएको र त्यसमा पनि अधिकांश विदेशमा कमाइविहीन भएकाहरू घरसम्म पुग्ने भाडाको लोभमा फस्ने गरेको पाइएको उनले बताए ।
कतिपयले भने सुन ल्याउनकै लागि नेपालबाट दुबइ घुम्ने बहाना बनाएर जाने र सुन लिएर आउने गरेको पाइएको बर्तौलाले बताए ।
ठूलै अन्तर्राष्ट्रिय गिरोह सक्रिय
दैनिक भित्रिरहेको सुनमा लगानी गर्ने र नेपालमा सुन ल्याउने अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय रहेको पुष्टि भएको महानरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले बताए ।
‘यिनीहरूले ल्याएको सुनको प्रकृति हेर्दा दुबइबाट नेपालमा सुन भित्र्याउन ठूलै गिरोह सक्रिय भएको देखिन्छ,’ एसएसपी बास्तोलाले लोकान्तरसँग भने,’ कुन कस्तो गिरोह सक्रिय छ भन्ने नेपालबाट पत्ता लगाउन गाह्रो विषय हो ।’
उनीहरूले कामदारलाई प्रलोभनमा पारेर बोकाउने गरेको र यहाँबाट अरू दलालहरूले रिसिभ गर्ने गरेको पाइएको बताए ।
कति हुन्छ एउटा बालामा फाइदा ?
इमिरेट्स गोल्डका अनुसार दुबइमा (बिहीवार) सुनको मूल्य प्रतिग्राम २१६ दिराम थियो । सो दिनको सटही दर प्रति दिराम ३२ रुपैयाँ ६६ पैसा रहेकाले नेपाली रूपैयाँमा प्रतिग्राम ७ हजार ५४ रुपैयाँ पर्ने देखियो ।
यसलाई तोलामा कन्भर्ट गर्दा ७ हजार ५४ लाई ११.६६ ले गुणन गर्नुपर्ने हुन्छ । प्रतितोला मूल्य ८२ हजार २ सय ५६ पर्न गयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा बिहीवार सुनको प्रतितोला मूल्य ९१ हजार ५ रुपैयाँ थियो ।
नेपाल र दुबइको मूल्य अन्तर झण्डै ९ हजार रहेको देखियो । प्रतिबाला मूल्य अन्तर ३७ हजार ५ सय १५ रुपैयाँ हुन गयो ।
अब अर्को पाटो विदेशबाट सुनका गरगहना ल्याएर नेपालमा विक्री गर्दा १० प्रतिशत जर्ती र रसायन भनेर काटिन्छ, बाला आकारमा ढालिएको उक्त सुन काँचो सुनकै हैसियतमा बिक्री हुने गरेको पाइएको छ ।
राज्यले दुःख दियो, विधिसम्मत आएको सुन किन्छौंः सुनचाँदी व्यवसायी
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार तिरेर ल्याएको सुन व्यवसायीहरूले किन्ने गरेको सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताए ।
‘सरकारले दुःख दिन खोज्यो नियम बनाउँदा ५० ग्राम ल्याउन पाउने भन्ने तर फेरि समाउने ?,’ शाक्यले प्रश्न गरे, ‘विधिवत रूपमा आएको सुन हामीले किन्छौं । संविधानले आफ्नो सम्पत्ति बेच्न पाउने व्यवस्था पनि त गरेको छ नि !’
राज्यले विदेशमा घुम्न गएका मानिसहरूले सुन ल्याउन नपाउने र रोजगारी गर्न गएकाले ल्याउन पाउने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ ।
अनावश्यक दुःख दिन नहुने उनको जिकिर छ ।