बाँके\ समय भवानी सामुदायिक वनछेउको आलिनगर बस्ती क्षेत्रमा पाटे बाघले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि दमाहा बजाएर धपाइयो । तर, राष्ट्रिय निकुञ्ज र वनसम्बन्धी ऐनले भने त्यसरी बाघलाई लखेट्नुलाई अपराधको रूपमा परिभाषित गरेको छ । राप्ती सोनारी गाउँपालिका–५ का सर्वसाधारण भने ज्यान जोखिममा परेपछि बाध्य भएर बाघ धपाउनु परेको बताउँछन् । उक्त घटनापछि बाघलाई उसको बासस्थानबाट धपाउन मिल्ने नमिल्ने विषयमा संरक्षणकर्मीहरूबीच बहस सुरु भएको छ ।
सामुदायिक वन क्षेत्रमा बस्ती छ । बाघको ओहोरदोहोर बढेको पनि छ । त्यसैले सर्वसाधारणले बाघ धपाउनलाई त्यसो गरेका होलान्,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले भने, ‘बाघ शान्त वातावरणमा बस्न रुचाउँछ । त्यसैले उसलाई तनाव दिएर वनबाट धपाएको सुनेको छु ।’ स्थानीयले ज्यान जोखिममा रहेकाले बाघ लखेटे पनि चोरी सिकारीको उद्देश्य नदेखिएको उनले बताए । कानुनअनुसार त्यसो गर्न मिल्दैन तर पटक–पटक आक्रमण हुन थालेपछि बाध्य भएर त्यस्तो गरेको हुन सक्ने उनले जनाए ।
बस्ती भएको क्षेत्रमा बाघको चहलपहल देखिएपछि निकुञ्ज प्रशासनले त्यस क्षेत्रमा हात्ती परिचालन गर्दै आएको छ । एक महिनाअघि पूर्वी गाभरको सामुदायिक वनमा बाघले आक्रमण गर्न थालेपछि हात्ती प्रयोग गरिएको थियो । ‘बस्ती आसपास बाघ देखिए त्यस क्षेत्रमा केही दिन हात्ती राखिदिएपछि बाघ त्यहाँबाट जान्छ । ढोल बजाएर तर्साएर भगाउनु पर्दैन,’ प्रमुख संरक्षण अधिकृत साहले भने ।
राप्ती सोनारी गाउँपालिकामा करिब दुई दर्जन बढी सामुदायिक वन छन् । सामुदायिक वनहरू बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । सामुदायिक वन आसपास बस्तीहरू छन् । सामुदायिक वन क्षेत्रले बाँके राष्ट्रिय निकुञ्ज र भारतको सुहेलवा सेन्चुरीलाई जोडेका कारण कम्दी जैविक मार्ग मानिएको छ । उक्त जैविक मार्ग भएर वन्यजन्तुहरू ओहोरदोहोर गर्छन् ।
स्थानीयको प्रयासमा कम्दी जैविक मार्गका सामुदायिक वनहरू संरक्षण गरिएपछि पछिल्लो समय फत्तेपुरदेखि बैजापुर क्षेत्रमा बाघको चहलपहल बढेको छ । स्थानीयका अनुसार त्यस क्षेत्रमा पाँचवटा पाटे बाघ देखिने गरेका छन् । जंगल क्षेत्रको सडक भएर आउजाउ गर्दा बाघले आक्रमणको प्रयास गर्दै आएको छ । स्थानीय हेमन्त चौधरीका अनुसार राप्ती सोनारी क्षेत्रमा बाघको आक्रमण बढेछि त्रास बढेको बताए । ‘पहिले बाघको आक्रमण यस क्षेत्रमा थिएन तर हाल बढेको छ,’ उनले भने, ‘ज्यान जोगाउन स्थानीयले दुई दिनअघि दमाहा बजाएर बाघ धपाए ।’
वन डिभिजन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले स्थानीयले वन जोगाएपछि वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको बताए । उनले पछिल्लो घटना हेर्दा अझै पनि द्वन्द्व बढ्न सक्ने खतरा देखिएको जनाए ।
मानव वन्यजन्तु द्वन्द्व घटाउन सरोकारवालाहरू लाग्नु पर्ने उनको सुझाव छ । ‘मान्छे पनि बाँच्न पाउनु पर्यो । वन्यजन्तुहरू पनि बाँच्न पाउनु पर्छ,’ उनले भने । ५ सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा २१ पाटे बाघ गणना गरिएको थियो । संरक्षणपछि यस वर्ष बाघको संख्या बढेको अनुमान गरिएको छ । इकान्तिपुर