बाँके\ दाङ र कैलालीका थारु समुदायमा पहिचान बन्दै गएको ‘बदिया भाले’ अन्य जिल्लाका लागि भने नौलो नै मानिन्छ । बदिया भालेको महत्त्व बढ्दै गर्दा यसको मूल्य पनि आकाशिएको छ ।
बदिया भाले लोकल भाले नै हो तर अन्यभन्दा फरक र स्वादिष्ट हुन्छ । तपाईंले खसीको मासु खानु र बोकाको मासु खानुमा जुन भिन्नता पाउनुहुन्छ, बदिया भालेमा पनि त्यस्तै हो ।
सुन्दा अचम्म लाग्न सक्छ – भाले पनि खसी पार्न मिल्छ । तर अचम्म मान्नुपर्दैन । लोकल भाले पनि खसी पारिन्छ र हुर्काएर महंगो मूल्यमा बेचिन्छ ।
स्वाद पूर्ण रूपमा फरक र स्वादिष्ट हुन्छ । बदिया भालेका विभिन्न परिकार बनाएर महंगो मूल्यमा मेनुमा राख्न थालेका छन् । खानाका सोखिन वर्गले बदिया भालेका परिकार खोजीखोजी खाने गरेका छन् । बदिया भालेको मासु खदिलो, कसिलो र तिक्खर स्वादको हुने हुँदा धेरैको रोजाइमा पर्न थालेको छ ।
बदिया भालेलाई बन्ध्याकरण गरेपछि निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरू बताउँछन् । भालेलाई जतिसक्दो चाँडो खसी बनाउँदा किसानलाई फाइदा हुने हुँदा कलिलो उमेरमै बन्ध्याकरण गरी मासुको मात्रा बढाउने गरिन्छ ।
यद्यपि सानो उमेरमा भालेको अण्डकोश पनि सानो हुने, त्यसलाई पत्ता लगाई समाएर चुडाउन वा काट्न पनि अप्ठ्यारो हुने हुँदा सामान्यतया भाले बास्ने उमेर भएपछि मात्र त्यसलाई बन्ध्याकरण गर्ने प्रचलन चलिआएको छ ।
बदिया भाले भन्नाले बन्ध्याकरण गरेर अण्डकोश निकाल्ने प्रक्रिया हो । सामान्यतया ६००–७०० रुपैयाँ प्रतिकिलोमा किनबेच हुने लोकल भाले बदिया गरेपछि ३–५ हजार रुपैयाँसम्म किनबेच हुने गरेको पाइन्छ । बदिया गरेपछि भालेको यौन चाहना र सक्रियता कम हुन्छ, जसले गर्दा पनि वजन ग्रहण गर्न सघाउ पुर्याउँछ । भाले बास्न शुरू गर्ने उमेर भनेको ४–५ महिनाको समय हो । त्यसबेला बदिया गरेपछि कम्तीमा ३–६ महिना थप पालेपछि मात्र मासुका लागि काटेर खाने वा किनबेच गर्ने गरिन्छ ।
बदिया भालेको अन्य कुखुराको जस्तै करी, रोस्ट, चिल्ली, छोइला, सादेको, डामेको सेकुवा, तास, झोल जसरी बनाएर खाए तापनि स्वादिष्ट र स्वस्थकर हुन्छ । बदिया भाले खाने यसका पारखीहरू हाइवे कटेज तथा लुम्बिनी प्रदेशमा ग्राहकहरू बढेका छन् ।