बाँके\नेपालको राजनीतिक इतिहासमा माघ १९ लाई ‘कू’ भएको दिनको रुपमा लिइन्छ। २०५८ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण शक्ति आफ्नो हातमा लिँदै राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको दिनलाई ‘कू’ भएको दिनको रुपमा लिइन्छ।
त्यसको ठिक १० वर्षपछि माघ १९ कै दिन सरकारकै नियमावली र अति संकटापन्न सूचीमा रहेको एउटा गिद्धमाथि ‘कू’ भएको छ। सरकारले २०७६ मंसिर ९ गते संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली ल्याएको थियो। यसका साथै २०५८ पुस १६ गते सरकारले सूचना जारी गरेर सिमल लगायतका वनस्पति र केही जडिबुटीहरुमा पनि प्रतिबन्ध लगाएको थियो।
उक्त प्रतिबन्धलाई लत्याउँदै सडक चक्लाबन्दीको ठेक्का पाएको ‘एनविन’ भन्ने चिनियाँ कम्पनीले सिमलको रुख काटेको हो। ठेकेदार कम्पनीका अनुसार सडक विस्तार अन्तर्गत तनर्हुमा मात्रै अहिलेसम्म २२ सय रुख काटिसकिएको छ। कम्पनीका असिस्टेन्ट रेसिडेन्सियल इन्जिनियर मोहन केसीले यसबारेमा आफूहरुलाई कुनै आधिकारिक जानकारी नआएको बताए।
‘चल्ला हुर्काउने बेलासम्म रुख जोगाउन सकिन्थ्यो, तर हामीलाई पनि थाहा भएन र सम्बन्धित निकायबाट पनि कुनै जानकारी आएन र रुख ढल्यो,’ उनले भने। उनका अनुसार विद्युत प्राधिकरको प्रसारणलाइनका कारण अझै धेरै रुख काट्न बाँकी नै छ। त्यो रुखलाई पनि जोगाउन सकिन्थ्यो।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको सिमलको रुखमा रहेको सानो खैरे गिद्धको गुँड (सेतो घेरामा)
प्रकृतिको कुचीकार मानिने गिद्ध उसको बासस्थान भनिने सिमलका रुख तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा विश्वकै अति संकटापन्न गिद्धको रुपमा अभिलेख गरिएको सानो खैरे गिद्ध अण्डा पारेर चल्ला कोरल्ने सुरसार गर्दै थियो। चरा विज्ञहरुका अनुसार यो गिद्धको प्राकृतिक चक्र भनेको वर्षमा एउटा मात्रै अण्डा पार्ने र चल्ला कोरल्ने हो। एक जोडी गिद्धले वर्षमा एउटा मात्रै चल्ला कोरल्ने भएकोले यसै त यसको संख्या कम छ। तथ्यांकअनुसार नेपालमा सानो खैरे गिद्धको संख्या ५० देखि ७५ माज्ञ छ।
पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार देशभर यो गिद्धको गुँड ७ वटामात्रै छन्। देशका विभिन्न स्थानमा भएका गुँडमध्ये तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा यसको गुँड फेला परेको थियो अण्डा पारेको अवस्थामा।
गण्डकी प्रदेश सरकारले पृथ्वी राजमार्ग अन्तर्गतको मुगलिन–पोखरा सडक चौडा बनाउने भनेर अहिले उक्त सडकको विभिन्न खण्डमा काम भइरहेको छ। कुनै खण्डमा सडक चौडा बनाउने काम भइरहेको छ भने कुनै खण्डमा सडक वरपरका रुख काट्ने काम भइरहेको छ। सडक वरिपरिका रुख काट्ने काम भएको थाहा पाएपछि पोखरा पंक्षी समाजका पदाधिकारीहरु शुक्लागण्डकी नगरपालिका पुगेर नगर प्रमुख किसान गुरुङलाई अरु रुख काटिए पनि चल्ला कोरले हुर्काउने बेलासम्म सिमलको रुख नकाट्न आग्रह गरे।
उनीहरुले पुस २० गते ज्ञापनपत्र बुझाएर यस्तो आग्रह गरेका थिए। समाजको आग्रहलाई गुरुङले स्वीकार गरे। उनले सानो खैरे गिद्धले चल्ला हुर्काएपछि मात्रै उक्त रुख काट्ने आश्वासन दिए। चराविद्हरुका अनुसार उक्त गिद्धले ३ महिनाभित्रमा अण्डा कोरलेर चल्ला हुर्काइसक्छ।
तर चल्ला कोरल्न ओथारो बसेकै अवस्थामा सडक विस्तारको नाममा अण्डासहितको गुँडको बेवास्ता गर्दै उक्त सिमलको रुख काटियो। यसरी सिमलको रुख काटिएपछि यहाँका चराप्रेमीहरु चिन्तित बनेका छन्। उनीहरुले यो कामलाई प्रकृतिको भ्रूण हत्याको संज्ञा दिएका छन्। ‘प्रकृतिका कुचीकारहरुको यो भ्रूणहत्या नै हो। चल्ला कोरल्न ओथारो बसिरहेको चराको गुँड भएको रुख ढाल्ने कामलाई हामीले यसरी नै बुझेका छौं,’ समाजका उपाध्यक्ष शेषकान्त शर्माले भने।
शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले भने आफूलाई यसबारेमा केही जानकारी नभएको बताए। ‘मेयर साबको टेबलमा आएको होला तर मलाई जानकारी भएन,’ उनले भने। यसबारेमा जानकारी लिन खोज्दा मेयर गुरुङले फोन उठाएनन्। उपमेयर सविता रसाइलीको फोन पनि उठेन।
‘एकातिर राज्यले गिद्ध संरक्षणमा कार्ययोजना बनाएर विश्वमै अनुकरणीय कार्य गरिरहेको छ र वर्षेनि करोडौं मूल्य खर्च गरिरहेको छ भने अर्कोतर्फ राज्यका कतिपय निकायहरु गिद्ध संरक्षणमा खासै महत्व दिएका छैनन्, जसको उदाहरण बनेको छ शुक्लागण्डकीको विशाल सिमलको रुख र अवोध पंक्षी,’ समाजका अध्यक्ष मनशान्त घिमिरेले भने।
समाजका सचिव हेमन्त ढकालका अनुसार गिद्ध भन्दा, सुन्दा र देख्दा जति समाजले घृणा पैदा जनाउँछ, त्योभन्दा लाखौं गुणा फाइदा यिनीहरुले सिंगो मानव जाति र पर्यावरणीय सन्तुलनमा आफ्नो उपस्थिति जनाएका छन्। मरेका जनावरको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको वृद्धिलाई रोकी मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखाला आदि सरुवा घातक रोगहरू र पशु चौपायाहरुमा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरुको महामारीबाट बचाउँछ।
समाजका उपाध्यक्ष शर्मा यसो भन्दा आफूहरुलाई विकास विरोधीको ट्याग लगाउने गरिएको गुनासो गर्छन्। ‘हामीले विकास नगरौं भनेको होइन, कुनै पनि विकास गर्दा त्यसको दीर्घकालीन असरको बारेमा पनि ध्यान दिनु जरुरी हुन्छ। संरक्षणको कोणबाट सोचेर पनि विकास हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने।