बाँके\ प्रेम गर्दा मृत्युदण्डको सजाय पाएका तत्कालीन रोमन साम्राज्यका सिपाही सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ मा संसारभर भ्यालेन्टाइन्स डे मनाइन्छ ।
२६९ एडीको उक्त घटनाको स्मरणमा नेपालसहित संसारका सबै मुलुकमा प्रेम दिवस मनाउने परम्परा झांगिएको छ । आपसमा माया साटेर प्रेम जोडीहरु उक्त दिनलाई उत्सवकै रुपमा मनाउँछन् । पछिल्ला केही वर्षमा नेपालमा समेत भ्यालेन्टाइन्सलाई सप्ताहकै रुपमा मनाउन थालिएको छ ।
फेब्रुअरी ७ मा रोज डे, त्यसपछि प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे र फेव्रुअरी १४ मा भ्यालेन्टाइन्स डे मनाइन्छ । मायालुहरु फेव्रुअरीलाई प्रेम दर्शाउने महिनाको रुपमा पनि लिन्छन् । प्रेमको प्रतीक रातो गुलाब उपहार दिँदा माया अटूट हुने विश्वास प्रेमजोडीमा छ ।
प्रेम दिवसको सप्ताह सुरु भएको छ र अर्किज ग्यालरी, गिफ्ट पसल र सहरका व्यवसायिक मार्टमा तन्नेरीको चहलपहल पनि । प्रेमीहरुलाई आकर्षित गर्न इ–कमर्सदेखि ब्यवसायिक घरानाहरुले आफ्ना उत्पादन र सेवामा स्किमहरु पनि ल्याएका छन् ।
काठमाडौं र पोखराजस्ता ठूला सहरका फूल पसलमा सोमबार बिहानैदेखि उपहार र फूल किन्न जाने ग्राहकको घुइँचो छ । राजधानीको कमलादी र दरबारमार्गका अर्किज पसलले भ्यालेन्टाइन सजावटसहित गिफ्ट र फ्लावर किन्न जाने ग्राहकलाई आकर्षित गर्न थालेका छन् । कतिपय इ–कमर्स प्लेटफर्मले अर्डरअनुसार घरमै फूल र गिफ्ट डेलिभरी गर्न थालेका छन् ।
कोरोनाभाइरस महामारीले व्यवसायिक कारोबार डिजिटल प्लेटफर्ममा हुँदा मायाको आयाम भने झनै फैलने क्रममा छ । नेपालमा माया गर्ने जोडीहरुलाई अब फूल किन्न अर्किज सपमा जानुपर्ने बाध्यता रहेन । एक क्लिकमै मायालुलाई गिफ्ट होम डेलिभरी गर्न सकिने सुविधा छ । लङ–डिस्टेन्स रिलेसनसिपमा रहेका नेपाली तन्नेरीलाई समेत यी प्लेटफर्मले सुविधा दिएका छन् ।
यी त भए माया गर्न मिल्ने सुविधाका कुरा । तर, बजारको लागि प्रेम दिवस एउटा ठूलो व्यवसायिक अवसर समेत हो । भ्यालेन्टाइन्स छेको फूलको बढी खपत हुने र गिफ्टको कारोबार मौलाउने अवसर हो । भ्यालेन्टाइन्स सुरु भएसँगै अर्किज सपलार्ई फूल बेच्ने र ग्राहकलाई आकर्षित गर्ने चटारो सुरु हुन्छ । पछिल्ला दुईवर्ष कोरोनाले खुम्चिएको फूल ब्यापार ओमिक्रोन ओरालो लागेसँगै उक्सिने आशा व्यवसायीले लिएका छन् ।
२ लाख ३० हजार थुंगा गुलाब आयात
प्रेम दिवसलाई लक्षित गर्दै आगामी फेव्रअरी १४ सम्म नेपालमा १ करोड रुपैयाँ बराबरको २ लाख ३० हजार थुंगा गुलाबको फूल आयात हुने लक्ष्य राखिएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ ।