बुटवल\ महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रवेश गर्ने प्रमुख नाका भैरहवा–लुम्बिनी सडक खण्डमा ८ वर्षदेखि दुईवटा ठूला मोटरेबल पुल अलपत्र छन् । १४ करोड रुपैयाँ लागतमा हुलाकी सडकमा निर्माणाधीन दुई पुल पप्पु बाग्मती जेभी कन्स्ट्रक्सन प्रालिले अलपत्र पारेको हो ।
४० प्रतिशत काम गरेर अलपत्र छाडेपछि पप्पुसँग ठेक्का सम्झौता ताडेर रमण डीएलओ इन्फाटेक जेभी ललितपुरसँग ठेक्का सम्झौता गरिएको थियो । उसले पनि पनि अहिलेसम्म काम अगाडि बढाउन सकेको छैन ।
रमणले गएको पुस २७ गते ठेक्का पाएको थियो । नयाँ ठेकेदार कम्पनीले पनि काम सम्पन्न गर्नेमा आशंका शुरू भएको छ । ती दुई पुल लुम्बिनी रोडमा पर्ने तिनाउ खोला र दानव नदीमा पर्छन् । आठ वर्षअघि ठेक्का सम्झौता गरेको पप्पु करीब ४० प्रतिशत काम गरेर भागेको थियो ।
हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी इञ्जिनीयर शरद आचार्यले नयाँ ठेकेदार कम्पनीले पनि अहिलेसम्म काम थाल्न नसकेको बताए । ‘नयाँ ठेकेदार पनि अहिलेसम्म मोभिलाइज भएको छैन,’ इञ्जिनीयर आचार्यले लोकान्तरसँग भने, ‘पत्र पठाएका छौं, तर जवाफ अहिलेसम्म आएको छैन । अब हामी एक्सनमा जानुपर्ने अवस्थामा पनि आउन सक्छ ।’
रमण काठमाडौंको धरहरा बनाउने ठेकेदार कम्पनी हो । पुलको पिल्लर र केही भाग ढलान बाहेक अरू काम भएको छैन । लुम्बिनी भैरहवा सडक चार लेनको बनेको छ । सोही सडक खण्डको बीचमा पर्ने दुईवटा प्रमुख पुल बन्न नसक्दा ट्राफिक जामले यात्रुलाई सास्ती हुँदै आएको छ ।
बुटवलबाट दैनिक लुम्बिनी विश्वविद्यालय जाने कर्मचारी लक्ष्मण पोखरेलले पुलका कारण सर्वसाधारण, आन्तरिक र बाह्य पर्यटकले ठूलो सास्ती खेप्नुपर्ने अवस्था रहेको बताए । पुल साँघुरो हुँदा ५ देखि ७ मिनेट सधैँ जाममा बस्नुपर्ने सास्ती रहेको उनले बताए । सडकमा सानो पुल हुँदा दोहोरा गाडी आवतजावतलाई रोक लगाइएको छ । म्याद थपपछिको म्याद २०७५ असार मसान्तको समय सीमासम्म तिनाउ पुलको करीब ४० प्रतिशत काम मात्र पप्पुले गरेको छ । त्यस्तै डण्डातर्फ २५ प्रतिशत काम मात्र भएको छ ।
दुवै पुल ९०/९० मिटर लामा हुन् । पप्पुले देशभरका पुल अलपत्र पारेर छाडेपछि कालोसूचीमा परेको थियो । तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड दुई लाख ५६ हजारमा ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीले तीन करोड १६ लाख ९८ हजारमा अर्थात ५३ प्रतिशत भुक्तानी लिइसकेको छ ।
त्यस्तै दानव नदीको डण्डा पुल ५ करोड ५६ लाख ८० हजार १ सय १५ रुपैयाँमा भ्याटसहित ठेक्का सम्झौता भएकोमा निर्माण व्यवसायीले दुई करोड ४० लाख १४ हजार ३१७ रुपैयाँ अर्थात् ४३ प्रतिशत भुक्तानी लिइसकेको छ । पप्पुले छाडेको पुल बनाउन रमणलाई १० करोड ३० लाखमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको आचार्यले बताए ।
हुलाकी सडक आयोजनाले विभागको निर्देशन अनुसार नै ठेक्का तोडेको थियो । कार्यालयले फिल्डबाट प्रतिवेदन लिएर विभाग पठाएपछि विभागले ठेक्का तोड्ने निर्णय गरेको थियो । नयाँ ठेकेदार कम्पनी रमणले सम्झौताअनुसार दुई वर्षभित्र पुल निर्माण सम्पन्न गनुपर्ने सम्झौतामा उल्लेख छ ।
हवाइमार्गबाट भैरहवा आएका, भारतीय बाटो सुनौली नाका हुँदै आएका, पूर्वी क्षेत्रबाट लुम्बिनी घुम्न आएका पर्यटक बोकेका सवारी साधन तथा नियमित यो बाटोमा सञ्चालन भएका सवारी साधन यी दुई पुल समयमा नबनेका कारण जाममा बसेर जानुपर्ने बाध्यता छ ।
दैनिक सरदर ५ हजार पर्यटकहरू यही बाटो भएर आउजाउ गर्छन् । पुल पुरानो र साँघुरो हुँदा निकै सास्ती खेप्नु परेको लुम्बिनीका होटल व्यवसायी खेम श्रेष्ठले बताए ।