बाँके\ गत वर्ष विद्युत् क्षेत्रका लागि निकै उतारचढावपूर्ण रह्यो ।साउनमा स्वदेशी उत्पादन खेर फालेर बहसमा आएको ऊर्जा क्षेत्र कात्तिकमा ३९ मेगावाट विद्युत् निर्यात गर्ने अवस्थामा पुग्यो । पुसको जाडोमा विद्युत् माग बढेर करीब १७०० मेगावाट पुग्न लाग्दा उपत्यका लगायत देशका विभिन्न ठाउँमा वितरण प्रणाली नै लथालिंङ्ग भयो ।
साउनमा ४/५ सय मेगावाट विद्युत् खेर फालेको नेपालले माघ लागेपछि त्यतिकै विद्युत् आयात गर्न थालेको थियो । फागुनमा भारतीय बिजुलीको मूल्य बढ्दा विद्युत् प्राधिकरण दबाबमा आइसकेको थियो ।
चैतमा भने भारतबाट बिड गरेर बिजुली किन्नै नसक्ने अवस्था आएपछि केही उद्योगमा विद्युत् आपूर्ति नै रोकियो । तर घरयासी ग्राहकलाई भने माथिल्लो तामाकोशीलाई आवश्यक्ता अनुसार चलाएर भएपनि विद्युत् आपूर्ति रोक्नु परेन ।
४ वर्ष अघि लोडसेडिङ अन्त्य भयो भन्दै मख्ख परेका नेपाली करीब करीब अध्यारोमा बस्ने अवस्थामा पुगेका थिए । ४५६ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना नबनेको हुन्थ्यो भने भारतबाट बिजुली नआएको बेला धेरै नेपालीले बिजुलीको बाटो हेरेर खाना पकाउनु पर्ने अवस्था आइसकेको हुन्थ्यो ।
माथिल्लो तामाकोशी जस्ता जलविद्युत् आयोजना नेपालका लागि कति महत्वपूर्ण छन् भन्ने त यसले प्रमाणित गरिसकेको छ । तर दुःखको कुरा अवको ५ वर्षमा पनि तामाकोशी जस्तो अर्को आयोजना नेपालले पाउने सम्भावना छैन ।
नदि प्रवाहमा आधारित केही आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपिएपनि ती आयोजना नेपालको ऊर्जा क्षेत्रको लागि थप टाउको दुखाइ हुने छन् ।
किनभने तामाकोशीको क्षमताका थप २/३ ओटा अर्धजालशययुक्त आयोजना नबनेसम्म अहिले नदि प्रवाहमा आएका आयोजनाको बिजुली वर्षामा खेर फाल्ने र हिउँदमा भारतकै भर पर्नुपर्ने अवस्था अन्त्य हुने देखिदैन ।
अहिले रूस युक्रेन युद्धले पनि नेपाललाई सिकाएको पाठ त्यहि हो । एउटा ठूलो जलाशययुक्त आयोजना बनाउ । त्यो नसके तामाकोशीको क्षमताका कम्तिमा २ ओटा अर्धजलाशययुक्त आयोजना बनाउनै पर्छ । हैन भने नेपालको ऊर्जा क्षेत्र विश्व बजारका साना ठूला सबै जसो घटनाक्रमबाट प्रभावित भइरहने देखिन्छ ।
अन्तरराष्ट्रिय तनावले नेपालको ऊर्जा क्षेत्र कसरी प्रभावित हुन्छ भन्ने उदाहरण अहिले देखिसक्यौ । कोइलाको मूल्य बढेपछि नेपालले भारतबाट आयात गर्ने विद्युत्को महसुल ३८ रुपैयाँसम्म पर्यो । त्यो पनि मागेजति पाउने अवस्था रहेन । भारतबाट पर्याप्त बिजुली नआउँदा नेपालमा औद्योगिक क्षेत्रको आपूर्ति नियमित हुन सकेन । महँगो बिजुली किनेर सस्तो बेच्दा विद्युत् प्राधिकरणले धान्न नसक्ने अवस्था आउन सक्ने देखिएको थियो ।
तर भारत सरकाले कोइलाबाट यत्पादन हुने बिजुलीको अधिकतम मूल्य २० रुपैयाँ नेपाली भन्दा बढी लिन नपाउने भनेर सीमा तोकेपछि नेपालले पनि राहतको सास फेरेको थियो । मौसम परिवर्तनका कारण एक डेढ हप्ता अघि नै नेपालका खोला नालामा पानीको सतह बढ्यो । यसले आन्तरिक उत्पादन बढेर विद्युत् प्राधिकरणलाई केहि राहत भयो । यस अघि दैनिक अधिकतम ३ करोड २५ लाख युनिट सम्म विद्युत् माग भएको नेपालमा २०७८ को अन्तिम दिन भने ३ करोड ३१ लाख ६९ हजार युनिटसम्म विद्युत माग भएको थियो । पिक समयको विद्युत् माग भने १६८९ मेगावाट रेकर्ड भएको थियो ।